घटनाक्रमले जिल्ला सधैं सुरक्षाका हिसाबले उच्च जोखिममा

काठमाडौं। कांग्रेसको चुनावी सभालाई लक्षित गरी तुलसीपुरमा भएको विस्फोटमा म्यादी प्रहरीको मृत्युपछि जिल्लाको सुरक्षा संवेदनशीलता बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा मुलुकमै पहिलो मृत्युको घटना दाङमा भएपछि सुरक्षा निकायले यसलाई गम्भीर रूपमा लिएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम विस्फोट हुँदा म्यादी प्रहरी तुलसीपुर १२ उरहरीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो । आम मतदातामा पनि यस घटनाले त्रास पैदा गरेको छ ।

यसअघिका केही निर्वाचनमा भएका घटनाले पनि दाङ सधैं उच्च सुरक्षा जोखिममा पर्ने गरेको छ । ०५१ को संसदीय निर्वाचनमा बिजौरीमा गोली चल्दा तीन एमाले कार्यकर्ताको ज्यान गएको थियो । ०६४ को संविधानसभा निर्वाचनमा लमहीमा गोली चल्दा सात माओवादी कार्यकर्ताको मृत्यु भएको थियो जसका कारण उक्त क्षेत्रका तत्कालीन कांग्रेस उम्मेदवार खुमबहादुर खडका निर्वाचन छाडेको घोषणा गरी जिल्लाबाट बाहिरिन बाध्य भएका थिए ।

सशस्त्र द्वन्द्वकालमा पनि पहिलो सैनिक ब्यारेक आक्रमण दाङमै भएपछि देशमा संकटकाल घोषणा भएको थियो । यी घटनाक्रमले जिल्ला सधैं सुरक्षाका हिसाबले उच्च जोखिममा देखिने गरेको छ । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्