दुई तिहाईको सरकारले पनि जनतालाई सरकार छ, भनि अनुभूति दिन सकेनः महासंघ

काठमाडौं, २६ श्रावण । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री केपी ओलीलाई भेटेर वामगठबन्धनको दुई तिहाईको सरकारले पनि सरकार छ भन्ने अनुभूति र अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएको छ ।

प्रधानमन्त्री ओली र महासंघका टोलिबिच वालुवाटारमा भएको भेटमा महासंघले यो आरोप लगाएको हो । ‘हामीले दुई तिहाईको सरकार आएपछि नयाँ उर्जाका साथ मुलुक समृद्धिको मार्गमा अगाडी बढ्ने अपेक्षा गरेका थियौं’महासंघकी अध्यक्ष भवानी राणाले भनिन्,’तर अहिलेसम्म पनि निजी क्षेत्रले त्यसको महशुस गर्न सकेको छैन ।‘

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले गत शनिबार प्रधानमन्त्री ओलीलाई भेटेका थिए । आफ्नो छाताभित्र रहेपनि आफुखुशी प्रधानमन्त्रीलाई भेटेको भन्दै दुई संगठनप्रति महासंघ रुष्ट बनेको छ । महासंघको गत आइतबार भएको कार्यसमिति बैठकमा दुई संगठनले आफूखुशी प्रधानमन्त्री ओली भेटेको भन्दै महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आलोचना गरेका थिए ।

उनी अहिले महासंघभित्र विशिष्ट सदस्यको रुपमा छन्। उनी महासंघको प्रत्येक बैठक र कार्यक्रममा सहभागी हुन्छन्। दुई संगठनले भेटेपछि महासंघले आफ्नै प्रयासमा जोरबल गरेर प्रधानमन्त्री भेटेको स्रोतले बतायो ।

महासंघको टोलीलाई झण्डै एक घण्टा कुराएर मात्रै ओलीले भेटेका थिए । महासंघसँगको भेटमा प्रधानमन्त्रीका सल्लाहाकार विष्णु रिमाल मात्रै थिए । मोरङका व्यापारीसँगको भेटमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कानुनमन्त्री भानुभक्त ढकाल, ऊर्जा मन्त्री वर्षमान पुन, स्थानीय विकास मन्त्री लालबाबु पण्डित र श्रम मन्त्री गोकर्ण विष्ट पनि सहभागी थिए भने विभिन्न मन्त्रालयका सचिव सहभागी थिए।

महासंघकी अध्यक्ष राणाले तेहोरो करका कारण व्यवसायी समस्यामा परेको बताउँदै एकीकृत कर प्रणाली कार्यान्वयनमा ल्याउन आग्रह गरिन् । जवाफमा प्रधानमन्त्री ओलीले सरकारले गर्नुपर्ने कामका बारेमा ठोस सुझाब ल्याउन आग्रह गरे ।

स्रोतका अनुसार नेपाल चेम्बर अफ कर्मश महासंघमा रुपान्तरण भएर आफ्नो भूमिका बढाउन थाल्नु र मोरङका व्यापारिक संगठनलाई ओलीलाई भेटेपछि महासंघ अलि संशकित बनेको छ।

त्यही भएर महासंघले वीरगंजमा जिल्ला नगरको राष्ट्रिय भेला पनि गरेको थियो । भेलाको नेकपाका अध्यक्ष प्रचण्डले उद्घाटन गरेका थिए । महासंघको प्रतिनिधीमण्डलमा पूर्व अध्यक्ष ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु किशोर प्रधान, चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठ सहभागी थिए ।
चेम्बर अफ कमर्शले पनि महासंघ जस्तै समानान्तर र जिल्ला, प्रदेश कार्यालयहरु खडा गर्दै गएको छ । यसले गर्दा ममहासघ र चेम्बर अफ कर्मशबिच फाटो आएको छ ।

प्रतिक्रिया दिनुहोस्