भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने गृहकार्य जारी छ: स्वास्थ्यमन्त्री

काठमाडौं ।  उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पतालको रूपमा विकास गर्न छलफल र गृहकार्य भैरहेको बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री यादवले छलफल र गृहकार्य मार्फत अस्पताललाई व्यवस्थित गर्दै लैजाने बताए ।

उपप्रधानमन्त्री यादवले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार गम्भीर रहेको भन्दै शिक्षा, स्वास्थ्य र कृषि जस्ता जनतासँग जोडिने सबै क्षेत्रलाई परिवर्तन, सुधार र स्तरीय बनाउन आवश्यक रहेको बताए ।

डा. गोविन्द केसीले फेरि अनशन बस्ने चेतावनी दिएकोबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री यादवले भने, ‘त्यो उहाँको व्यक्तिगत कुरा हो ।’

देशभरका अस्पताल विकास समितिहरु खारेज गर्दा अस्पताल सञ्चालन गर्न कुनै समस्या नभएको पनि उनले दावी गरे ।

मन्त्री यादवले शनिबार भरतपुरस्थित क्यान्सर अस्पतालको निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्