दलहरुको कसरत जारीः शीर्ष नेता को कहाँ व्यस्त

काठमाडौं। आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनकालागि दलहरु आज प्रचारप्रचारका लागि अन्तिम कसरतमा जुटेका छन् । मंसिर २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणको चुनावकालागि दलका उम्मेदवार मतदाता रिझाउन आज पनि बिहानैदेखि व्यस्त रहेका छन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनकालागि गठबन्धननै बनाएर चुनावी प्रचारमा जुटेका लोकतान्त्रिक गठबन्धन तथा कम्युनिष्ट गठबन्धन संयुक्त र छुट्टाछुट्टै चुनावी सभामा व्यस्त छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राजपा लगाएतका दलका नेताहरु आफ्ना पक्षमा मतदाता आकर्षित गर्न व्यस्त बनेका छन ।

नेपाली कांग्रेसले पूर्व देखि पश्चिमसम्म आयोजना गरेका चुनावी सभालाई सम्वोधन गर्दै हिडेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा आजभने आफु उम्मेदवार बनेको डडेल्धुरामा व्यस्त रहनुहुने भएको छ । नेपाली कांग्रेसले आज तनहुँको दमौली, रुपन्देहीको वुटवल, सुनसरी, पर्सा लगाएतका ठाउँमा चुनावी सभाको आयोजना गरेको नेता बालकृष्ण खाणले जानकारी दिनुभएको छ ।

यता नेकपा एमाले घरदैलो अभियान सकेर चुनावी सभामा केन्द्रित भएको छ । आज क्षेत्रिय स्तरको सभा तथा विभिन्न निर्वाचन क्षेत्रमा कोणसभाको गर्ने प्रवक्ता विष्णु रिमालले जानकारी दिनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौ र भक्तपुरमा आयोजना चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै माओवादी केन्द्रले ठूला आमसभालाई कम गर्दै मतदाता केन्द्रित अभियानलाई तिव्रता दिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै चुनावी क्षेत्रमा केन्द्रित रहने जनाइएको छ । त्यसैगरी मधेस केन्द्रित दलहरुका साथै राप्रपा, राप्रपा प्रजातान्त्रीक लगाएतका दलहरु समेतले मतदातालाई आफ्ना पक्षमा तान्न अन्तिम कसरतमा लागेका छन ।

प्रतिक्रिया दिनुहोस्