नियम विपरीत सञ्चालन गरेका चार पसल शिलबन्दी
काठमाडौं, २१ श्रावण । नियम विपरीत सञ्चालनमा रहेका चार पसललाई सिलबन्दी गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको अनुगमनका क्रममा यसअघि दिएको निर्देशन पालना नगरेको र औषधि पसल सञ्चालनसम्बन्धी कुनै पनि कागजात नपाइएपछि नरेफाँटस्थित एनएण्डएस औषधि पसल सिलबन्दी गरिएको हो ।
त्यसैगरी मनकामना मार्केटिङ स्टोर र केसी चिकेन स्टोर गँगबुमा पनि कुखुरा राख्ने स्थान र वधस्थल अत्यधिक फोहोर भएको, छानाबाट पानी चुहिएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजात व्यवसायस्थलमा नभएकाले हाल दुवै पसलका सामान सञ्चालक स्वयंको जिम्मामा रहने गरी सिलबन्दी गरिएको हो । केसी चिकेन स्टोरबाट म्याद नाघेका रु दुई हजार ८०० बराबरको सामान नष्ट गरिएको छ ।
चिरीशा फार्मेसी नरेफाँटमा सम्बन्धित व्यवसायीको अनुपस्थिति रहेको, औषधि व्यवस्था विभागको ढाँचानुसारको बिल नभएको तथा म्याद नाघेको औषधि बिक्रीस्थलमा राखेकाले तत्काल बन्द गरी २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ ।
संयोजक रामकृष्ण श्रेष्ठको अगुवाइमा भएको अनुगमनका क्रममा काठमाडौँ जडीबुटीमा रहेको स्पर्श फार्मेसीमा व्यवसाय दर्तानुसारको सूचनापाटी नभएको र औषधि व्यवस्था विभागअनुसारको बिल नभएकाले २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ ।
निशान हत्या प्रकरणः प्रहरी इन्काउण्टरमा दुई जना मारिए, ग्राहक नै उपहरणकारी
काठमाडौं, २१ श्रावण । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।
भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा उनीहरुको मृत्यु भएको महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुई राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।
यसैबीच, अपहरित ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका थिए ।
हत्या भएका बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा अध्ययनरत थिए ।
निशान आइतबार अपराहृन अपहरणमा परेका थिए । चमेलीका अनुसार स्कुलबाट आएपछि निशान गोपालसँगै मोबाइल किन्न गएका थिए । पेन्टिङको काम गर्ने उनी पछिल्ला केही वर्षदेखि चमेलीको पसलमा खाना तथा खाना खाने गर्थे ।
आइतबार पनि उनी वियर खाएर निस्किएका थिए । मोबाइल पसलमा छाडेर हिँडेका निशान अबरसम्म नभेटिएपछि सोधीखोजी सुरु भयो । राति ९ बजेतिर आफूलाई फोन आएको र ४० लाख रुपैयाँ फिरौती मागेको चमेलीले जानकारी दिएकी छन् ।
उनीहरले प्रहरीलाई खबर गरे । प्रहरीले तत्काल खोजी थाल्यो तर, निशान भेटिएनन् ।
सोमबार मध्याहृनतिर ठिमी नगरपालिका ९ स्थित एक निर्माणधीन घरमा निशानको शव भेटिएको थियो।
घरको जगमा उठाइएको वालसँगै रहेको हिलाम्मे खाल्डोमा मृत भेटिएका बालकको मुखमा कपडा कोचिएको थियो भने खुट्टा सेतो टेपले बाँधिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार बालकको राति नै हत्या गरिएको आशंका गरिएको छ ।
अपहरणकारी पाइलट बाबा जंगलतर्फ भागेको सूचनाका आधारमा गएको प्रहरीसँग मुठभेड हुँदा नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङ मारिएका छन् ।
गोपाल चमेलीको खाजा घरमा नियमित आउँथे र खाना तथा खाजा खाने गरेका थिए । तर, जसलाई उनले वर्षौ खाना खुवाइन्, उनले नै निशानको ज्यान लिए ।
प्रतिक्रिया दिनुहोस्