शीर्ष नेताको चुनावी दौड, भोट मागिदिन धपेडी

 

काठमाडौ, । एमाले अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीको धपेडी निकै बढेको छ । आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रमभन्दा ओली आफ्ना पार्टी र वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्न बढी व्यस्त छन् ।

आफ्नो क्षेत्रको केही कार्यक्रममा सहभागिता जनाई ओली आइतबार मोरङ क्षेत्र नम्बर ४ मा वाम गठन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीलाई भोट माग्न आयोजित सभामा सहभागी भए । भने, ‘हामी कसैको विरुद्धमा नभई आफ्नै चुनावी अभियानमा सक्रिय भएका हौं । वाम गठबन्धनले देशभर विजयको झन्डा फहराउँछ ।’ विराटनगरको चुनावी सभा सकेर उनी चितवन हिँडे ।

प्रतिनिधिसभा सदस्यतर्फ मकवानपुरबाट उम्मेदवार बनेका राप्रपा अध्यक्ष कमल थापा पूर्वी क्षेत्रको चुनावी अभियानमा सक्रिय भए । मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार डा। शेखर कोइरालालाई पार्टीले समर्थन गरेका कारण भोट माग्न थापा पनि खटिए । विराटनगरमा भएको संयुक्त सभामा उनले कांग्रेस उम्मेदवारका लागि भोट मागे । भने, ‘अरूतिर जे भए पनि यहाँ हामीले मोरङमा कांग्रेसलाई सघाउँदै छौं ।’

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा फर्किई सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विजयकुमार गच्छदार आफूलाई मात्र नभई कांग्रेसका अन्य उम्मेदवारका लागि पनि भोट माग्न व्यस्त छन् । सुनसरी र मोरङका थारू बहुल क्षेत्रमा गच्छदारको धपेडी आफूलाई मात्र होइन, पार्टीकै उम्मेदवारलाई भोट माग्न केन्द्रित छ । मोरङ क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार महेश आचार्यलाई भोट मागिदिन उनी तेतरियाको चुनावी सभामा सहभागी बने भने डा। शेखर कोइरालाका लागि बुढीगंगाको कोयलपुरमा आयोजित चुनावी सभामा पुगे । भने, ‘आफ्ना लागि मात्र नभई पार्टीकै उम्मेदवारका लागि पनि खटिएको छु ।’ पार्टीका सबै उम्मेदवारलाई जिताउन नै अन्य क्षेत्रका कार्यक्रममा पनि सहभागी हुने गरेको उनले बताए ।

चुनावी अभियान सुरु भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाका कार्यक्रममा सहभागी भए । चुनावी सभा चल्दै गर्दा छोरा प्रकाश दाहालको निधन भएपछि काठमाडौं फर्किए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि पूर्वमा भोट मागिदिन सक्रिय बने । उनी एकै दिन झापाको गौरादह, तेह्रथुम र सुनसरीमा भएको चुनावी सभामा सहभागी भई पश्चिम नेपालको अभियानमा जुटेका छन् । एमाले मोरङका अध्यक्ष विनोद ढकाल भन्छन्, ‘शीर्ष नेताको उपस्थितिले चुनावी अभियानलाई झन् बलियो र घनीभूत बनाएको छ ।’

‘बीपीको सिद्धान्त एमालेले अँगीकार गरेको छ’विराटनगर एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका बेला भ्रम फैलाउने र झुटा आश्वासन बाँड्नेहरूसँग सचेत रहन मतदातालाई आग्रह गरेका छन् । ‘निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न एउटा पक्ष भ्रम फैलाउने काम गरिरहेको छ’, अध्यक्ष ओलीले भने, ‘अर्को पक्ष उहीसँग गएर चुनावी तालमेल गरिरहेको छ ।’

लुटपाट र ठगी गर्नेहरूले जनतालाई गुमराहमा राखिरहेको आरोप लगाउँदै उनले भने, ‘यस्ता अलोकतान्त्रिक तत्वलाई नेपाली जनताले चिनिसकेका छन् । उनीहरूको हविगत निर्वाचनपछि थाहा भइहाल्छ ।’ कांग्रेसप्रति लक्ष्य गरी उनले देश टुक्र्याउन खोज्नेसँग तालमेल गरी राष्ट्रको रक्षाका लागि लड्ने शक्तिविरुद्ध गतिविधि गरिरहेको आरोप लगाए । ‘देश बनाएर जनतालाई सुख दिनुपर्छ भन्नेका सपना भिन्दै छन्’, उनले भने, ‘भ्रष्टाचार गर्ने र पैसा कसरी कमाउन सकिन्छ भनेर लागेकाहरूको जपना भिन्दै छ ।’

उनले बीपीको समाजवादको सिद्धान्त एमालेले अँगीकार गरिरहेको दाबी गर्दै कांग्रेसले त्यसलाई भुलेको बताए । कांग्रेस बनाएका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताले पछि काम नलाग्ने भयो भनेर कांग्रेस छाडेको उल्लेख गर्दै उनले भने, ‘वाम गठबन्धनको एजेन्डामा नेपाली जनताले समहमति जनाइसकेका छन् । कांग्रेससँग मुलुक बनाउने कुनै एजेन्डा छैन ।’

उनले वाम गठबन्धनले बहुमत ल्याए मात्र मुलुक समृद्धिको बाटोतर्फ अगाडि लम्किने दाबी गरे । भने, ‘मुलुकमा अब कायापलट गर्नुपर्नेछ । पाँच वर्षभित्र मुलुकलाई आत्मनिर्भर बनाउन जरुरी छ ।’ आजको अन्नपूर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्