चीनले भन्यो नेपालसम्मै रेल पुर्‍याउँछौं

चिनियाँ प्रधानमन्त्री ली ले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई छिट्टै नै नेपालसम्मै पुर्‍याउनेछ,’ ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटवार्तमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको हिसाबले व्यापक अध्ययन गुर्नपर्ने भएकाले लामो प्राविधिक अध्ययनहरू भइरहेको छ।’
‘परराष्ट्रमन्त्री महराले रेल हाम्रो आवश्यकता भइसकेको भन्दै आफ्नो धारणा राख्नेबित्तिकै प्रधानमन्त्री लीले चीनले नेपालसम्मै रेल पुर्‍याउन गृहकार्य गरिरहेको बताएका हुन्,’ स्रोतले भन्यो ‘रेलमात्र होइन, नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्ध साँच्चै आत्मीय रहेकाले यसलाई विकास गर्न पनि आपसमा यस प्रकारको सहकार्य आवश्यक रहेको छ।’
महराले नेपाल–चीन अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन मुख्य राजनीतिक दलहरूको धारणा समान रहेको जानकारी गराएका थिए। उनले आफू चीन आउनुअघि सबै दलका नेताहरूसँग भेटवार्ता गरेर समान धारणा बनाएको बताएका थिए।

चीनले पटक–पटक नेपाललाई ‘दक्षिण एसियाको ढोका’ भनिरहेको अवस्थामा रेल मार्ग आफैंले जोड्ने विषय उच्च तहबाटै बाहिर आएको हो। सिगात्सेबाट केरुङ ल्याउन लागिएको निर्माणाधीन रेलमार्गलाई पहिलो चरणमा काठमाडौं ल्याउनेबारे अध्ययन भइरहेको र त्यसपछि काठमाडौंबाट पोखरा र लुम्बिनीसम्म लैजानेबारे पनि तत्काल अध्ययन थालिने चीनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्