प्रतिप्रश्न गर्न नपाएको भन्दै कांग्रेसद्वारा संसद बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापालाई प्रतिप्रश्न गर्न नपाएको भन्दै संसद बैठक बहिष्कार गरेको छ ।
सुरुवातमा नेपाली कांग्रेसले संसद अवरोध गरेको भएपनि सभामुख कृष्णबहादुर महराले आफूले गृहमन्त्रीलाई शुन्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिनका लागि समय दिएको भन्दै प्रतिप्रश्नका लागि समय दिन नसकिने बताएका थिए ।
गृहमन्त्री थापाले कञ्चनपुरमा बालिका बलात्कारपछि हत्या प्रकरण र सांसद निरुदेवी पालमाथि धम्की दिइएको विषयमा संसदलाई जानकारी गराएका थिए ।
थापाले बोलेपछि प्रतिप्रश्न सोध्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएका थिए । तर सभामुख महराले उनीहरूलाई समय भने दिएनन । उनले कार्यसूची अनुसार संसदीय समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाए । त्यतिञ्जेल कांग्रेस सांसदहरू उभिरहे । त्यसपछि कांग्रेस सांसदले प्रतिप्रश्न गर्नुपर्ने माग उठाइरहे ।
सभामुख महराले उनीहरूलाई बस्न आग्रह गर्दै बीमा विधेयक प्रस्तुत गर्न अर्थमन्त्री युवराज खतिवडालाई समय दिएपछि कांग्रेस सांसदहरूले बैठक बहिष्कार गरेका हुन ।
नियमविपरीत कार्य गरेको भन्दै कांग्रेस सांसदहरू बैठक छाडेर हिँडेका थिए ।
त्यसपछि गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय आतंकवाद अन्तरदेशीय संगठित अपराध र अवैध लागूऔषध कारोबारविरूद्ध सहयोग सम्बन्धी विमस्टेक महासन्धी प्रस्तुत गरे । संसदको अर्को बैठक शुक्रबार डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्