आँखु खोला हाइड्रो पावर आईपिओ आजदेखि खुला
काठमाडौं, १७ श्रावण । आँखु खोला हाइड्रो पावर कम्पनी (AKHCL)ले आज (साउन १७ ) देखि साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र धादिङ्गका स्थानीय बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको हो ।
कम्पनीले पहिलो चरणमा जारी पूँजी ८० करोडको दश प्रतिशतले हुने शेयर उद्योग प्रभावित क्षेत्र धादिङ्गका सम्पूर्ण बासिन्दाका लागि बिक्री खुला गरेको छ ।
यस आईपिओमा स्थानीयले आज (साउन १७) देखि छिटोमा साउने ३१ गतेसम्म तथा ढिलोमा भदौ १५ गतेसम्म आवेदन गर्न पाउनेछन् ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आयोजना प्रभावितले उक्त आइपिओमा कम्तिमा ५० कित्ता र बढीमा चार हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । तर स्थानीयले शेयर खरिद गरेमा शेयर बाँडफाँड भएको मितिले ३ बर्षसम्म बिक्री वा हस्तान्तरण गर्न भने पाउने छैनन् ।
इच्छुक आवेदकले आँखु खोला हाइड्रो पावर कम्पनीको आयोजना स्थलको कार्यालय त्रिपुरासुन्दरी गाँउपालिका ४ रिङनेबजार र धादिङमा सञ्चालनमा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमीटेडको आईपिओ ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ ।
कम्पनीले स्थानीयलाई शेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि १२ करोड बराबरको १२ लाख कित्ता आईपिओ जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओ जारी पछि ८० करोड पुग्नेछ ।
यस कम्पनीबाट प्रर्वद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भैसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको छ ।
प्रतिक्रिया दिनुहोस्