विदेश भ्रमणमा सरकार थप कडा, प्रधानमन्त्रीले मगाए विवरण

काठमाडौं। सार्वजनिक खर्चमा मितव्ययी नीति लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विदेश भ्रमणमा अझै कडा नीति लिएको छ ।सरकारी अधिकारी तथा कर्मचारीहरू विदेश भ्रमणमा अनावश्यक रूपमा निस्कने र राज्यको खर्चसमेत हुने तर उपलब्धि नै नभएको भन्दै सरकारले कडाइ गरेको हो ।

प्रधानमन्त्री कार्यालयले गत वर्ष कति सरकारी अधिकारी विदेश भ्रमणमा निस्किएको र कति खर्च भएको भन्नेबारे विवरण संकलन गर्न थालेको छ ।

प्रधानमन्त्री ओलीले भ्रमणबाट शून्य उपलब्धि भएको भन्दै मन्त्री र कर्मचारीहरूलाई विदेश भ्रमणमा कडाइ गरिएको समेत बताएका छन् । आजको राजधानी दैनिकमा यसबारे विस्तृत खबर छापिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने र घुमेर आउने मात्र गर्दा ठूलो धनराशि खर्च हुने गरेको भन्दै त्यसको उपलब्धि नदेखिएकाले विवरण मगाएको बताएका छन् । ‘गत वर्ष मन्त्रालयगत रूपमा कति कर्मचारी विदेश गएका छन्, त्यसबापत कति रकम खर्च भएको छ, त्यसको पूर्ण विवरण मैले मगाएको छु,’ नगरपालिका संघको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री ओलीले शुक्रबार भने, ‘सबै विवरण प्राप्त भएपछि विदेश भ्रमणको उपलब्धि र क्षतिबारे समीक्षा हुन्छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले सरकारले मितव्ययी नीति अवलम्बन गरेकाले वैदेशिक भ्रमणमा पनि मितव्ययिता कायम गर्ने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्