डा. केसीकाे अनसनकाे अाज २७ औँ दिन, सहमतिको प्रयास हुँदै, स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध असार १६ देखि जुम्लाबाट अनशन शुरू गरेका डाक्टर गोविन्द केसी १६ औं पटक अनसन बसेको आज २७ दिन भएको छ ।

जुम्लाबाट सुरुभएको डा. केसीको यसपटकको अनशन लम्बिँदै गएको छ । गएको बिहीबार स्वास्थ्यमा जटिलता देखिएको भन्दै सरकारको जोडबलमा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याइएको छ । अहिले उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।

सहमति जुटाउनका लागि पछिल्लो केही दिनदेखि सक्रियता बढेको छ । सरकारी र डा. केसी पक्षको वार्ता टोलीबिच मंगलबार र बुधबार वार्ता भयो । दुवै वार्तामा केही कुरामा सहमति भए पनि केही कुरा मिल्न सकेको छैन । डा. केसी पक्षले नयाँ माग ल्याउन थालेको सरकारी पक्षले आरोप लगएको छ भने डा. केसी पक्षले सरकार गम्भीर नदेखिएको बताएका छन् ।

बुधबार पनि वार्ता निष्कर्षमा लगेर डा. केसीको अनशन तोडाउने प्रयास असफल भएको छ । बिहानैदेखि विभिन्न पक्षसँगको छलफल र त्यसपछि वार्ता टोलीबिचको वार्तामा सहमति जुट्न सकेन । बिहीबार पनि वार्ताको तयारी छ । अनशन लम्बिँदै जाँदा डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

डा. केसी यसअघि सबैभन्दा लामो समय अनशन बसेको भनेको २३ दिन थियो, अहिले त्यो भन्दा चार दिन बढी भइसकेको छ । तर पनि वार्ताले सहमतिको आकार लिन सकेको छैन ।

नेपालमा अनशनको इतिहास हेर्ने हो भने लामो समय अनशन बस्ने गोरखाका नन्दप्रसाद अधिकारी हुन् । छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेका उनको २०७१ असोज ६ गते अनशनको ३३१ औँ दिनमा निधन भएको थियो ।

उनकी श्रीमती गंगामायाले पटक पटक अनशन बस्दै आएकी छन् । उनले पछिल्लो पटक ४७ औँ दिनमा अनशन तोडेकी थिइन् । राजनीतिक नेता तर्फ लामो समय अनशन बस्ने विपी कोइराला हुन् । उनले राणा शासनको विरोधमा २९ दिन अनशन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्