सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दीको माग

काठमाडौं । कर्णाली प्रदेशका विद्यालयका कर्मचारीले सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दी सिर्जना गर्न माग गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद् कर्णाली प्रदेश समितिले सोमबार कर्णाली प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको दरबन्दी सिर्जनाको माग गरेका हुन् ।

उनीहरुले विद्यालय कर्मचारीलाई निजामती वा शिक्षकसरह पदीय हैसियत तथा सेवा सुविधा निर्धारण गर्न माग राखेका छन् ।

राजधानी सुर्खेत वीरेन्द्रनगरमा भेला भएका १० जिल्लाका कर्मचारीले शिक्षा ऐनको आठाँै संशोधनबमोजिम मन्त्रालयले विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गर्दा हाल कार्यरत संख्यामा नघटाई निर्धारण गर्नुपर्ने माग राखिएको परिषद्का कर्णाली प्रदेश समिति अध्यक्ष शान्तिनाथ योगीले जानकारी दिए ।

अविछिन्नरुपमा कार्यरत विद्यालय कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार बन्न उमेरको हद नलाग्ने व्यवस्थाको पहलका लागि अनुरोध गरिएको अध्यक्ष योगीले बताए ।

उनका अनुसार १० वर्ष सेवा अवधि पुगेका विद्यालय कर्मचारीलाई एक तह बढुवा गर्नुपर्ने, संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको नियुक्ति, सेवा, शर्त र सुविधाको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्