अाजदेखि देशभर चिकित्सकद्वारा ओपिडी टिकट बहिष्कार, काठमाडाैमा सामूहिक अनसन!
काठमाडौं । नेपाल चिकित्सक संघले डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै अाजदेखि ओपिडी टिकट, रसिद, बिल बहिष्कार गर्ने भएका छन्। बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा सञ्चालन गर्ने संघले निर्णय गरेकाे छ।
त्यस्तै उपत्यकाका चिकित्सकहरु वसन्तपुरमा सामूहिक अनसन बस्ने भएका छन् ।
संघले सोमबार पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियाे। जसअनुसार संघले उपत्यका बाहिरका डाक्टरहरुलाई पनि नियमित ओपिडी टिकट बहिस्कार गर्दै रिले अनसन तथा धर्नाका कार्यक्रम गर्न भनेको छ।
यस्तो छ संघले जारी गरेको विज्ञप्ति:
चिकित्सा क्षेत्रको सुधारको माग राखी असार १६ गते देखि अनसनरत नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा डा गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल सरकारले २४औं दिन बितिसक्दा पनि गम्भिरता प्रकट नगरिएको हुनाले डा केसीको जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गरहेकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ।
यस्तो बिषम परिस्थितिमा नेपाल चिकित्सक संघले निम्नलिखित दबावमूलक कार्यक्रम घोषणा गरी देशभरका स्वास्थ्य संस्थामा कार्यान्वयन गर्न गराउन यसै विज्ञप्ति मार्फत संघका सम्पूर्ण शाखा कार्यालयहरु र देशभरका स्वास्थ्य संस्थाहरुमा हार्दिक अपिल गर्दछ।
१) रेजिडेन्ट चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कारप्रति यस संघ ऐक्यबद्धता जाहेर गर्दछ।
२) देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने। बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपिडी सेवा सञ्चालन गरिने छ।
३) देशभरका चिकित्सक साथीहरुलाई आ–आफ्नो जिल्लामा रिले अनसन, (र्याली, धर्ना) लगायतका विरोधका कार्यक्रमहरु गर्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्ने।
४) काठमाडौं उपत्यकाको हकमा नेपाल चिकित्सक संघका पदाधिकारीसहित सम्पूर्ण चिकित्सकहरुलाई वसन्तपुर डबलीमा उपस्थित भई बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनसन बस्ने।
डा गोविन्द केसीको जीवन रक्षार्थ उल्लेखित विरोध कार्यक्रम देशभर प्रभावकारी रुपमा सञ्चालन गर्न नागरिकहरुलाई सहयोग र समर्थनको लागि यस संघ हार्दिक अपिल गर्दछ।
डा लोचन कार्की
महासचिव
प्रतिक्रिया दिनुहोस्