बन्दिपुरमा केबलकारको शिलान्यास,१५ महिनाभित्रै तयार हुने
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले शुक्रबार बन्दिपुर केबलकारको शिलान्यास गरेका छन् ।
ठूलढुंगादेखि बन्दिपुर जोड्ने एक किलोमिटर ६०० मिटरको सीधा रोपवे केबलकार परियोजनाको मुख्यमन्त्री गरुङले शिलान्यास गर्दै पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा जोड दिए । प्रदेशका १४ प्रतिशत गरिबीको रेखामुनि रहेका जनतालाई पाँच वर्षभित्र शून्यमा झार्ने लक्ष्य रहेको उनले बताए ।
प्रदेशका पर्यटन, उद्योग, वन तथा वातवरणमन्त्री विकास लम्सालले पर्यटनमुखी प्रदेश बनाउन लागिएको बताए । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष रामचन्द्र शर्मा, बन्दीपुर केबलकारका अध्यक्ष तारानाथ उपाध्याय, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापालगायतले केबलकार सञ्चालन भए बन्दिपुरको विकासमा टेवा मिल्ने बताए ।
५६ करोड रुपैयाँको लागतमा निर्माण गरिने केबलकार १५ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । केबलकार निर्माणका लागि लाग्ने कुल रकममा ११ करोड २० लाख रुपैयाँ बन्दीपुरेका लागि शेयर खुला गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्