पर्वतमा पहिरोले घर पुरिएर एक जनाको ज्यान गयो, १६ घरलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पर्वतको जलजला गाउँपालिका –८, लस्तीमा एक जनाको मृत्यु भएको छ ।

गय राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिएर बमबहादुरका १६ वर्षीय छोरा विकास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोमा परि बेपत्ता भनिएका अन्य चार जनाले भने सोमबार बेलुका नै पहिरो आउँदैछ भनेर भागेको बताएका छन् । उनीहरु अहिले सम्पर्कमा आइसकेका छन् ।

पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले उद्धार कार्य जारी छ । स्थानीयबासीलगायत प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ । पहिरोकै कारणबाट मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन ।

त्यस्तै जलजला –८, धाइरिङ बास्कोटमा समेत स्थानीय भिमलाल आचार्यको घर पहिरोमा परि भत्किँदा ६ जना घाइते भएका छन् । स्थानीयहरुले घाइतेको उपचारका लागि लैजाँदै गरेको मिलन चोक प्रहरी चौकी इञ्चार्ज कृष्णबहादुर नेपालीले जानकारी दए ।

प्रतिक्रिया दिनुहोस्