उपत्यकाबाहिर श्रम कार्यालय खोल्ने सरकारी योजना विफल, ५६ लाख बजेट खेर गयो
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने युवाको चापलाई मध्यनजर गर्दै उपत्यकाबाहिर तीन स्थानमा श्रम कार्यालय खोल्न विनियोजन गरेको बजेट फ्रिज भएको छ। मन्त्रालयले समयमा कार्यालय स्थापनाको काम अगाडि बढाउन नसक्दा विनयोजित बजेट फ्रिज भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ मा इटहरी, बर्दिवास र बुटवलमा श्रम कार्यालय स्थापनाका लागि ५५ लाख ७० हजार बजेट विनियोजन गरेको थियो।
गत बैसाखमा श्रम मन्त्रालय सम्हाल्न आएको श्रममन्त्री गोकर्णराज विष्टले उक्त निर्णय आफ्नो नयाँ योजनामा समावेश गर्दै काम अघि बढाउने घोषणा गरेका थिए।
सुरुमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारको पुनः श्रम स्वीकृति वितरण गर्ने र पछि श्रम स्वीकृति सम्बन्धी सबै काम गर्ने उद्देश्यले गत मंसिरमा श्रम कार्यालय खोल्ने योजना मन्त्रालयले अघि सारेको थियो।
मन्त्रालयले भने कार्यालय स्थापनाका लागि आवश्यक पूर्वाधारका विषयमा अध्ययन भइरहेको बताएको छ। यसका लागि आवश्यक भवन, कर्मचारीका विषयमा अध्ययन गरिरहेको मन्त्रालयको भनाइ छ।
कार्यालय स्थापनापछि आवश्यक पर्ने कर्मचारीको माग श्रम मन्त्रालयले सामान्य मन्त्रालयसँग गरिसकेको छ। मन्त्रालयले कार्यालयका लागि भवनको टेन्डर आह्वान गर्ने तयारी पनि गरेको जनाएको छ।
भदौ महिनादेखि कार्यालय सञ्चालनमा ल्याउने गरी गृहकार्य गरिरहेको मन्त्रालयको दाबी छ।
प्रतिक्रिया दिनुहोस्