सात अर्बको हतियार किन्दै नेपाली सेना, ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि

काठमाडौं । सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको छ ।
यसमा मेसिनरी औजार पनि समेटिएको छ।
चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो ।

रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ ।

रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि

दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ ।

सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो ।

लडाइँमा प्रत्यक्ष उत्रिन पाउनेगरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन् ।

आगामी वर्षदेखि आवेदन खुला हुने र महिलाले कठोर छनोट प्रक्रिया पार गरे सन् २०२० सम्म बेलायतमा इन्फेन्ट्री तालिमका लागि आउनसक्ने अपेक्षा गरिएको छ ।

सण्डे टाइम्सका अनुसार अहिले ब्रिगेड अफ गोर्खाजमा तीन हजार गोर्खा सैनिक कार्यरत छन् । महिला भर्तीपछि यो संख्या तीन हजार ८ सय पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्