प्रसूतिका लागि स्वास्थ्य संस्था लैजान एम्बुलेन्स भाडा नलाग्ने

काठमाडौं ।  सिन्धुलीको फिक्कल गाउँपालिकाका गर्भवति महिलाले प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म जाँदा एम्बुलेन्स भाडा तिर्नु नपर्ने भएको छ । गाउँपालिकाले हिजो पहिलो पटक एम्बुलेन्स सेवा सुरु गर्दै गाउँपालिकाका सबै गर्भवति महिलालाई प्रसूति सेवाका लागि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरसम्म लैजान एम्बुलेन्स भाडा नलिने निर्णय गरेको हो ।

प्रसूतिका लागि गर्भवति महिलालाई गाउँपालिका बाहिरका स्वास्थ्य संस्थामा लानुपरेमा पनि एम्बुलेन्स भाडा ५० प्रतिशत छुट गर्ने निर्णय भएको वडा नं. ५ का वडा अध्यक्ष तथा प्रवक्ता राजु बरालले जानकारी दिनुभयो ।

त्यस्तै, गाउँपालिकाका ८० वर्ष उमेर पुगेका बृद्धबृद्धालाई उपचारका लागि स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स भाडा ५० प्रतिशत छुट गर्ने निर्णय भएको वडा अध्यक्ष बरालले बताउनुभयो । गाउँपालिकाले १२ लाखमा एम्बुलेन्स खरिद गरि सोमबारबाट नियमिति सेवा सुरु गरेको हो ।

जिल्लाको विकट गाउँपालिका भनेर चिनिने फिक्कल गाउँपालिकामा एम्बुलेन्स सेवा सुरु भएपछि स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्