अनसनरत डा केसी पक्ष र सरकारी टोलीबीच आज पनि वार्ता हुने

काठमाडौं।  सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच आज पुन: वार्ता हुने भएको छ। सोमबार बसेको वार्ता बिनानिष्कर्ष टुंगिएपछि आज फेरि वार्ता हुन लागेको हो। हिजोको वार्तामा पहिलो बुँदामै कुरा नमिलेपछि वार्ता मंगलबार पुनः गर्नेगरी स्थगन भएको थियो।

शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएको प्रमुख माग चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार नै आउनुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो। वार्तामा डा केसी पक्षधरले संसदमा दर्ता भएको विधेयक फिर्ता लिएर अध्यादेश अनुसारको विधेयक दर्ता गराउनुपर्ने अडान राखेका थिए।

सरकारी वार्ता टोलीले उक्त विषयको जानकारी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई गराएका थिए। मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने बताएपछि वार्ता विनानिष्कर्ष टुंगिएको हो।

डा केसीको पक्षबाट वार्तामा सहभागी डा अभिषेक सिंहका अनुसार विधेयकका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्र कुरा हुने भएपछि पुन: आज वार्ता हुने भएको हो।

सरकार अझै पनि गम्भीर देखिएको जस्तो नलागेको उनले बताए।

डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्