निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गरिए कारबाही हुन्छ: प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् ।

यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने स्पष्ट गरे ।

निर्वाचन आचारसंहितामा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ ।

आचारसंहिता विपरीत कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापतको कारबाही हुने र निर्वाचन आचारसंहिता विपरीत गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने कार्यमा समेत नकारात्मक प्रभाव पर्ने जानकारी डा. यादवले दिए ।

प्रतिक्रिया दिनुहोस्