लक नलगाएका ट्यांकरबाट इन्धन ढुवानी नगरिने, ९५ प्रतिशत ट्यांकरमा आधुनिक लकिङ प्रणाली जडान

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ९५ प्रतिशत ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणाली लागू गरेको छ । झापाबाट गएको चैत अन्तिम हप्तादेखि सुरु भएको लकिङ प्रणाली अन्तर्गत अहिले धनुषामा ट्यांकरमा लक जडान गर्ने काम भइरहेको छ ।

निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले लकिङ प्रणालीमा नआउने ट्याङकरबाट ढुवानी नगरिने र त्यस्ता ट्याँकरलाई भोलिदेखि यो प्रणालीमा नल्याइने पनि बताए ।

तर कुनै प्राविधिक समस्याले यो प्रणालीमा आउन छुटेको भए निगमले थप छलफल गरिने उनको भनाई छ । ट्यांकरमा आधुनिक ताल्चा प्रणाली लगाउने यो अभियानले बीच बाटोमा चुहावट र मिसावट नहुने जसले गर्दा पेट्रोलियमको गुणस्तर बढ्ने कार्यकारी निर्देशक भट्टराईले दावी गरे ।

यस अन्तर्गत ट्याँकरमा कम्प्युटर प्रणालीबाट तयार पारेको ताल्चा लगाइन्छ । यो ताल्चाको माष्टर की अर्थात साँचो भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगमसंग मात्र रहने भएकाले भारतमा इन्धन भर्दा र नेपालमा ल्याएर डिपोमा खन्याउँदा मात्र ट्याँकर खोल्न सकिन्छ ।

यसका लागि निगमले विगत दुई वर्षदेखि तयारी थालेको थियो । तर ढुवानीकर्ताको असहयोगका कारण यो प्रणाली लागू गर्न ढिलाई भएको थियो ।

प्रतिक्रिया दिनुहोस्