डा केसीको १५औं अनसन , आज १६ दिन , स्वास्थ्य जटिल बन्दै , सरकारको भने बेवास्ता

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राखी डा गोविन्द केसीले १५औं अनसन थालेको १६ दिन भएको छ।

जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा केसीको स्वास्थ्यमा जटिलता आउन थालेको छ। डा केसी अनसन बसेको स्थानमा चिकित्सकहरुले आवश्यक पर्नासाथ प्रयोगमा ल्याउनेगरी भेन्टिलेटरको समेत व्यवस्था गरेका छन्।

उहाँको पिसाबमा ‘केटोन बडी’ अत्याधिक देखिन थालेको छ भने शरीरमा सञ्चित बोसोहरु पग्लेर मांसपेशी पनि टुक्रिन थालिसकेको छ । डा केसीको मुटुको चाल अनियमित बन्दै गएको छ। अनसन बस्दाको पहिलो दिन असार १६ को तुलनामा डा केसीको तौल ९ केजी घटेको चिकित्सकहरु बताउँछन्।

काठमाडौंमा थप मेडिकल कलेज खोल्न दिनेगरी चिकित्सा शिक्षा विधेयक ल्याउने प्रयासमा रहेको सरकार पक्षले डा केसी अनसनको १५ दिन बितिसक्दा पनि वार्ताको पहल गरेको छैन।

शनिबार राजधानीको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा जुम्लाबाट डा केसीले अडियो सन्देश पठाई सरकारले अहिलेसम्म वार्ता गर्न नखोजेको बताउनुभयो।

सरकारले माथेमा प्रतिवेदन र डा केसीसँगको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक ल्याउन लागेपछि डा केसीले १५ औं अनसन सुरु गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्