तुलसीपुरमा घुमन्ते व्यापारीहरुलाई प्रवेशमा रोक

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर क्षेत्रमा घुमन्ते व्यापारीहरुलाई पूर्णरुपमा रोक लगाएको छ । व्यवसायीहरुको गुनासो पछि वाणिज्य संघ , उपमहानगरपालीका , राजश्व कार्यालय, घरेलुमा दर्ता नगरी वजारमा घुमन्ते रुपमा विक्री वितरण हुदै आएका सामाग्रीहरु जफत गर्न शुरु गरेको छ ।
चाड पर्व नजिकिए संगै विभिन्न स्थानवाट वजार क्षेत्रमा सटिङ, सुटिङ, इलेक्ट्रीक तथा औषधि जन्य सामाग्रीहरु पूर्ण रुपमा जथाभावि रुपमा विक्री वितरण गर्नमा रोक लगाएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत (विरु)ले जानकारी दिनु भयो । उहाँका अनुसार सुरुमा घुमन्ते व्यवसायीहरुलाई सम्झाई वुझाई गरेको र अटेरी गरी पटक पटक वजार क्षेत्रमा कर छलि गरी दर्ता विना व्यापार गर्ने व्यवसायीहरुको सामान वाणिज्य संघले जफत गर्न शुरु गरेको समेत जानकारी दिनु भयो ।
यता संघका महासचिव रुप वहादुर खत्री को नेतृत्वमा वजार अनुगमनमा पुगेको टोलीले खुल्ला रुपमा जडिवुटी औषधि विक्री वितरण गरिरहेको अवस्थामा सितलपुर चौकबाट एउटा गाडी नियन्त्रणमा लिएको छ ।


त्यसै गरी वजारका विभिन्न स्थानहरुमा विक्री वितरण गर्दै आईरहेका जोलाहा व्यापारीलाई समेत नियन्त्रणमा लिएको छ ।उनीहरुलाई पनि सामान्य जरिवाना काटेर एक पटकलाई सामानहरु फिर्ता गरिएको वाणिज्य संघले जनाएको छ । संघले एक महिना अगाडी देखि घुमन्ते व्यापारीहरुलाई तुलसीपुर क्षेत्रमा व्यापार नगर्न सार्वजनिक सुचना मार्फत सचेत गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्