टिचिङ्गका आवासीय चिकित्सकहरु आजदेखि हड्तालमा, विरामी मर्कामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आजदेखि हडतालमा उत्रेका छन् ।
१४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् । १४ दिनदेखि डा। केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारेमा सरकारी पक्षसँग चासो देखाएको छैन । डा. केसीको स्वास्थ्य दिनानु दिन गम्भिर बन्दै गएको छ । उनलाई श्वासप्रश्वामा समस्या देखिएको छ ।

उनको स्वास्थ्यमा समस्या आएका कारण तत्काल काठमाडौं ल्याई उपचार गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । यही बीच, त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले डा केसी १४ दिन सम्म आवरण अनसनमा रहंदा पनि सरकार गम्भिर नभएको भन्दै नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्न लागेको हो ।

एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको छ । ‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

एनआरडीएले यसबाट हुने क्षति र असुविधाप्रति सरकार जिम्मेवार हुने समेत विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्