राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन् । उनले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु नहुने भन्दै यसमा सरकार सचेत रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई वितरण गर्दै प्रधानमन्त्री ओलीले सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले म दाग र धब्बारहितरुपमा काम गर्ने भन्दै भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि नसक्ने बताए । सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो नगर्ने बताए । सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे ।

प्रधामन्त्री ओलीले जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ?” उनले प्रश्न गरे । उनले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको पनि दावि गरे । युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उनले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तार समेत गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने चर्चा गर्दै भाषा, संस्कृति, कला देशका ऐना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्