नेपाल सँस्कृति, कला र ज्ञानमा धनी : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सँस्कृति, कला र ज्ञानमा धनी रहेको बताएका छन् । उनले ठूला ठूला देशमा नभएको भाषा, सँस्कृति हामीसित रहेको भन्दै हाम्रा शहर कलामय र यहाँका झ्याल ढोका, भित्ता कलामयताले सजिएको बताए ।

मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठान स्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उनले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यहाँका संस्कृति, कला, साहित्यलाई व्यूँत््याई अद्यावधिक गर्न आवश्यक रहेको भन्दै सरकारले नेपालको प्राज्ञिक, साँस्कृतिक, कला र शिक्षा क्षेत्रमा अगाडि बढाउने बताए ।

उाले प्रतिष्ठान राष्ट्रका प्रबुद्घ व्यक्तिको समूह रहेकाले यसलाई खँदिलो बनाउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई प्रभावकारी बनाइने पनि बताएका हुन् । अर्को वर्ष साक्षरता अभियानलाई सफल पारी मुलुकबाट निरक्षरता हटाउने प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो । उनले सबैलाई आफ्नो जीवनलाई सहज बनाउने र आजको दुनियाँसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिइनेसमेत बताए ।

प्रधानमन्त्री ओलीले हामी कसैको थिचोमिचो र औपनिवेशिक दबाबमा नरहेकाले अब नेपाललाई नयाँ दिशा दिन नयाँ कदमका साथमा काम गरेर अगाडि बढाइने बताए ।

यसैगरी, प्रधानमन्त्री ओलीले आजै प्रज्ञा छापाखानाको उद्घाटन समेत गरेकास थिए । जर्मनीबाट रु ११ करोड रुपैयाँमा खरिद गरी ल्याइएको उक्त छापाखानामा नेपाली भाषा तथा साहित्य सम्बन्धी पुस्तक छापिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्