सपथका बेला वैधानिक प्रदेश प्रमुख अहिले कसरी अवैधानिक भए : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा गरिएका निर्णयहरू केपी ओली सरकारले बदर गर्ने निर्णयलाई लिएर कडा आपत्ति जनाएका छन् ।

शनिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले केपी ओली नेतृत्वको सरकारले भदौ १४ देखि फागुन २ सम्मका निर्णयहरू बदर गर्ने निर्णयको बारेमा प्रतिक्रिया दिँदै ‘सपथका बेला वैधानिक हुने प्रदेश प्रमुख अहिले कसरी अवैधानिक भए ?’ भन्ने प्रश्न गरे ।

सभापति देउवाले ओली सरकारले विधिको शासन र संविधान विपरीत निर्णय गर्दै हिँडेको र दुईतिहाईको दम्भ देखाएको आरोप लगाए । उनले विरोध गर्ने ठाउँ खोस्नु अधिनायकवादको संकेत भएको बताउँदै आफूले निर्वाचन आयोगसँगको सहमति लिएर नै नियुक्तिहरू गरेको दावी गरे ।

पार्टीलाई एक ढिक्का बनाएर लैजान नसकेको आरोप छ नी ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अब पार्टी गुटरहित एक ढिक्का बनाएर अघि बढ्छ । संगठन पनि सुधार गर्ने काम भइरहेको भईरहेको छ । ’
सरकारले प्रदेश प्रमुखहरू हटाउने तयारी गरेको चर्चा चले पनि अहिलेसम्म कसैलाई हटाएको भने छैन ।

प्रतिक्रिया दिनुहोस्