नेकपाको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय स्थायी समिति बैठकले दिएको सुझावको आधारमा पार्टी नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्य दल गठन गरेको हो ।

नेकपाका नेताद्धय बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदललाई ३ दिन भित्र नियमावलीलाई प्रकाशन हुने गरी अन्तिम रुप दिने कार्यादेश पनि दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बिहिबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको थियो ।
कार्यदलले तयार पारेको सुझावसहितको नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर सोही दिन प्रकाशनका लागि पठाउने निर्णय पनि गरिएको छ ।

पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पनि मंगलबार नै सचिवालयले बैठक बोलाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै ल्याउन र आफू नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णय खारेज गर्ने सरकारको निर्णय फिर्ता नलिए सडक र सदन दुवै ठप्प गर्ने चेतावनीसहितको प्रर्दशन गर्दै आएको बारेम पा िसरकारको भावि रणनीतिका बरेमा छलफल भएको थियो ।
सरकारको पछिल्लो गतिविधिका बारेमा पार्टी भित्रै व्यापक आलोचना हुन थालेको छ ।
सोही सम्बन्धमा पार्टी भित्र समान धारणा तय गर्न मंगलबार पुनः सचिवालय बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्