डा.केसी र गंगामायाको माग विधिसम्मत तरिकाले सम्बोधन हुन्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक विधि र सुशासन मार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा.गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताएका छन् ।

गृहमन्त्री थापाले डा.गोविन्द केसीको अधिकारलाई दमन तथा कुन्ठित नगरेको भन्दै उनको नैसर्गिक अधिकारको सम्मान गरेको स्पष्ट पारे । उनले लोकतन्त्रका नाममा जहाँसुकै अनशन गर्ने र विरोध गर्ने अधिकार हुँदैन भन्दै गृहमन्त्री थापाले अति संवेदनशील र अत्यावश्यकीय क्षेत्रमा अनशन बस्न नहुने बताए ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा विशेष समय लिएर केही सांसदहरुले सरकारको ध्यानाकर्षण गराएपछि जवाफ दिँदै गृहमन्त्री थापाले उत्पन्न समस्याको लोकतान्त्रिक विधिअनुसार समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

लोकतन्त्रका जननी भनिएका देशमा पनि जहाँसुकै विरोध जनाउन नपाइने उदाहरण दिदै मन्त्री थापाले डा.केसीले उठाउनुभएको विषयमा सरकारको विमति छैन, विधिसम्मत र लोकतान्त्रिक तबरले हल गरिने प्रष्ट पारे ।

उनले जननिर्वाचित प्रतिनिधिसभा मार्फत विधिसम्मतरुपमा समस्याको समाधान गरिने भन्दै विशेष किसिमका मुद्दा सम्बोधन गर्न सरकारले सदनमा विधेयक ल्याउने जानकारी दिए । गृहमन्त्री थापाले भने, “तपाईको आवाजको सम्मान गर्छौं, लोकतान्त्रिक तबरले समस्याको समाधान गरौँ, कानूनभन्दा माथि केही हुँदैन, डा केसीलाई पनि लोकतान्त्रिक मान्यतालाई ख्याल गर्न अपिल गर्दछु ।”

उनले जनयुद्धका विषयका मुद्दाका विषय सहमतिका गरेर अगाडि बढिसकेको भन्दै गृहमन्त्री थापाले गंगामाया अधिकारीका विषयलाई अतिरञ्जीत तबरले उठाएर राजनीतिक अस्थिरता पैदा गर्ने खेल त भइराखेको त छैन भन्दै शंका गरे

गृहमन्त्री थापाले एक जना गंगामाया मात्र होइन हजारौँ गंगामायाजस्ता व्यक्तिको समस्यालाई विशेष ध्यान दिनुपर्ने भन्दै राज्यले समस्याको समाधान गर्ने बताउनुभयो । उनले गंगामाया र डा.गोविन्द केसीको शीघ्र स्वाथ्यलाभको कामनासमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्