सरकारको कदमप्रति सशक्त आन्दोलन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसअघिको सरकारले ल्याएको अध्यादेशको मर्म नमर्ने गरी र नागरिकको हितको पक्षमा हुने चिकित्सा शिक्षा विधयेक ल्याउन सरकारसँग माग गरेको छ । यस्तै नेपाली कांग्रेसले सरकारले गरेका मनपरी कामविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

बुधवार बिहान संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारले तानाशाही ढंगले काम गर्न थालेको भन्दै अब चुप नबस्ने चेतावनी समेत दिएको छ । बैठकले डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको अनसनलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसन बसेकी गंगामाया अधिकारीको अनसनलाई समर्थन गर्दै अवस्था बुझ्न पार्वती डिसी चौधरी, अमरेश कुमार सिह र देवप्रसाद तिमल्सिनालाई आजै वीर अस्पताल पठाउने निर्णय भएको पनि गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्णा खाँडले जानकारी दिए ।

यस्तै कर्णाली प्रदेशको जुम्ला पुगेर अनसन बसिरहेका डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्न र माग पूरा गर्न दबाब दिन प्रकाश रसाइली, दिनबन्धु श्रेष्ठ र रंगमती शाहीलाई विहिवार जुम्ला पठाउने निर्णय पनि कांग्रेसले गरेको प्रमुख सचेतक खाँडले बताए ।

कांग्रेस संसदीय दलको बैठकले सरकारले काठमाडौंका ६ स्थानमा मात्रै प्रदर्शन गर्न लगाएको उर्दी तोड्ने र निषेधाज्ञा लगाएका ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको छ । निधेषाज्ञाको निर्णय फिर्ता लिन सरकारसँग आग्रह गर्ने, दुवै सदनमा कुरा उठाउने तर अटेरी गरेर प्रतिबन्ध लगाइएका ठाउँमा गएरै प्रदर्शन गर्ने पनि नेता खाँडले जानकारी दिनुभयो ।

यस्तै महंगी नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकाल्दै सशक्त आन्दोलन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्