त्रिविले परीक्षा शुल्क घटायो, अब ल क्याम्पसमा सबै विद्यार्थीले पढ्न पाउने
काठमाडौ । त्रिभुवन विश्विद्यालयले परीक्षा शुल्क घटाएको छ । विद्यार्थी संगठनहरूको दबावमा त्रिविले एक हजार शुल्क घटाएको हो ।
आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच शुक्रबार भएको वार्तामा शुल्क घटाउने सहमति भएको हो ।
यसअघि स्नातकोत्तर पहिलो सेमेस्टरबाट लागू हुने गरी २ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको थियो । त्यसअघि एक हजार रुपैयाँ मात्र शुल्क थियो ।
सहमतिपछि भए सगै अब त्रिविले १ हजार पाँच सय रुपैयाँ परीक्षा शुल्क लिने छ ।
यसैबीच नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी अध्ययन गर्न सबै विद्र्याीहरुले पाउने भएका छन् । यसअघि ८ सय जनालाई मात्र भर्ना लिने निर्णय क्याम्पस प्रशासनले गरेको थियो । ८ सय जनाका लागि क्याम्पसले लिएको प्रवेश परीक्षामा ४ हजार ८ सय विद्यार्थीहरु सहभागी भएका थिए ।
तर संयुक्त विद्यार्थी संगठनको दबावमा कोटा निर्धारण नगर्ने र प्रक्रिया पुर्याएर सबै विद्यार्थीहरुलाई भर्ना लिन क्याम्पस प्रशासन सहमत भएको छ । एलएलबी पढ्न इच्छुक विद्यार्थीहरु २१ गतेदेखि भर्ना हुन सक्ने छन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले कानुनको अध्ययन गर्न पाउने हक सबैलाई छ । संघीयता कार्यान्वयन भएपछि कानुन अध्ययन गरेको जनशक्ति झन् धेरै आवश्यक छ । त्यसैले कोटा तोकिनु गलत छ भनेर हामीले विरोध गर्दै आएका बताएका छन् । अब कलेज पढ्न इच्छुक सबैलाई भर्ना लिने सहमति भएको उन बताए ।
कुनै पनि विषयमा स्नातक उत्तीर्ण विद्यार्थीहरुले एलएलबी स्नातक तह अध्ययन गर्न पाउँछन् । एलएलबी अध्ययनका लागि प्रमुख आकर्षणको कलेज त्रिभुवन विश्विद्यालयको नेपाल ल क्याम्पस हो । यस कलेजले सीमित संख्यामा मात्र विद्यार्थी भर्ना लिने निर्णय गर्दा बाँकी विद्यार्थीहरुलाई निजी कलेजमा महंगो शुल्क बुझाएर भर्ना हुनुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया दिनुहोस्