महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गरेकि छन् ।

महालेखापरीक्षकको कार्यालयको हीरक जयन्तीका अवसरमा शुक्रवार आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले महालेखापरीक्षकको प्रतिवेदनमाथि पछिल्लो समय सरोकारवालाको चासो र जिज्ञासा वृद्धि हुँदै गएकाले त्यो प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गरेकि हुन् ।

राष्ट्रपति भण्डारीले जनता आफूले तिरेको करको अपचलन भएको छैन भन्ने कुरामा आश्वस्त हुन चाहेको भन्दै जनताको यो अपेक्षा पूरा गर्न महालेखा परीक्षकको कार्यालय थप सवल र सक्षम बन्नुपर्छ र जनअपेक्षा पूरा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले दिएका सुझावहरु बजेट तथा खर्च व्यवस्थापन, विकास निर्माण व्यवस्थापन, सार्वजनिक खरिद व्यवस्थापन, राजश्व प्रशासन सुधार, सार्वजनिक सम्पत्ति संरक्षण, सार्वजनिक सेवा प्रवाह लगायतलाई कार्यान्वयनमा उतार्नुपर्ने राष्ट्रपति भण्डारीले बताईन् ।

राष्ट्रपति भण्डारीले ती सुझाव कार्यान्वयनमा सरकार, संघीय संसद् तथा सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गर्दै ती सुझाव कार्यान्वयनले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता कायम गर्नमा सहयोग मिल्ने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले सार्वजनिक आर्थिक कारोवारमा बेरुजु अंकले ती निकायमा वित्तीय अनुशासनको स्थिति कमजोर रहेको उल्लेख गर्दै आर्थिक अनुशासनमा आउने ह्रासले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा बाधा उत्पन्न हुनसक्ने अवस्थालाई समयमै सम्बोधन हुनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व महालेखापरीक्षक गेहेन्द्रनाथ अधिकारीलाई सम्मान एवं कार्यालयमा कार्यरत उत्कृष्ट सातजना कर्मचारीलाई पुरस्कृत गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्