प्रधानमन्त्री ओलीको चिन भ्रमण सफल भएको मन्त्रीपरिषद् बैठकको निष्कर्ष

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् । यस्तै, बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

भ्रमण अपेक्षा अनुरूप नेपालको हितमा रहेको निष्कर्षमा मन्त्रिपरिषद् पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिए । नेपाल र बङ्गलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न र बिमा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको पनि मन्त्री बास्कोटाले जानकारी दिएका छन् ।

त्यसैगरी, सरकारले कर्जा सुरक्षण नियमावली, २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपेली संघबाट प्राप्त हुने ४० मिलियन यूरो (करीब पाँच अर्ब ६ करोड) अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक–२०७५ संसदमा पेस गर्न स्वीकृत प्रदान गरेको छ ।

बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको छनोट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी नियमावली–२०७५ र निक्षेप सुरक्षण नियमावली–२०७५ लाई पनि स्वीकृत गरेको मन्त्री बास्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्