निगमको वाइड बडी विमान काठमाडौँ आइपुग्यो, साउन पहिलो साताबाट व्यावसायिक उडान शुरु गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान डेढ महिनापछि ल्याइने बताईएको छ । २०७४ साल वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरीदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२/१२ अर्बको ऋणबाट दुईवटा विमान खरीद गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार प्रति विमानको मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण गरिएको छ । कूल २७४ सिट क्षमताको वाइड बडी अन्नपूर्णको १८ वटा सांग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, प्रवक्ता रवीन्द्र श्रेष्ठसहित चालकदलका (नौ जना) सदस्य गरी १९ जना यात्रु बोकेर काठमाडौँ उत्रिएको वाइड बडीको विमानस्थलमा भव्य रुपमा स्वागत गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घनटन गरेका हुन । विमानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले वाइड बडी विमानको स्वागत गर्न पाउँदा निगम परिवार मात्र नभई देशले नै खुशी मनाएको बताएका छन् । उनले विमान अवतरणसँगै निगमलाई विश्वका एयरलाइन्ससँग प्रतिस्पर्धी बनाउने आजको आवश्यकता र चुनौती रहेको उल्लेख गरे ।

पर्यटनमन्त्री अधिकारीले मेहनत र परिश्रमबाट धेरै आरोह–अवरोह पार गर्दै निगम यहाँसम्म आइपुगेको छ । यसको प्रगतिमा अझै हामी सन्तुष्ट हुन सकेका छैनौँ किनभने हामी सँगसँगैका धेरै अगाडि बढिसके उनीहरुलाई उछिन्ने गरी हामी अघि बढ्नुछ, त्यसका लागि निगमले अन्तर्राष्ट्रिय उडानलाई प्रभावकारी बनाएर आफ्नो व्यावसायिक जीवनमा सफलता कायम गर्नेछ यसका लागि बधाई तथा शुभकामना समेत दिएका छन् ।

पर्यटन मन्त्रालय र प्राधिकरणका उच्च अधिकारी तथा निगमका कर्मचारीका सथै विमानस्थलमा कूटनीतिक नियोगका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएपछि साउनको पहिलो सातादेखि व्यावसायिक उडान शुरु गर्ने निगमको तयारी छ । आगामी दिनमा नेपाली पाइलटहरुले पनि वाइड बडी विमान उडाउने उनले बताएका छन् । पहिलो चरणमा दुबई÷दोहा उडान गरिनेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया र साउदी अरेबियाको रियादमा उडान गरिने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्