नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध, बैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौं । वर्षा सुरुसंगै लगातार पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध बनेको छ । आज बिहान पनि चार किलोमा पहिरो खसेपछि आवागमन ठप्प भएको हो । यसले यात्रु सास्ती खेप्नु परेको छ । ठूलो पहिरो खसेकाले दुवैतिरका गाडी रोकिएका छन् ।

जिल्ला ट्राफिक कार्यालय, चितवनले नारायणगढ–मुग्लिन सडकमा बिहान ६ बजे ४ किलोमा पहिरो खसेपछि आवागमन ठप्प भएको बताए । ठूलो पहिरो सडकमा आएर बसेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो हटाएर सडक खुलाउन प्रयास भइरहेको भएता पनि ठूलो पहिरो खसेकाले तत्काल सडक खुल्ले सम्भव नभएकाले वैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीको सुझाव छ ।

पछिल्लो समय नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण हरेक दिनजसो अवरुद्ध हुन थालेको छ । सोमबार र मंगलबार पनि यसैगरी पहिरो खस्दा यात्रुहरुले सास्ती खेप्नु परेको थियो । मंगलबार ११ घन्टापछि खुलेको सडकमा पहिरो खसेपछि पुनः अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्