छिमेक लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा आठौँ पटक सम्मानित 

काठमाडौं, १ मंसिर ।  छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपालमा सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा आठौँ पटक सम्मानित भएको छ ।

संस्थाले आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त क्षेत्रका अन्य संस्थाको तुलनामा सर्वाधिक आयकर दाखिला गरेबापत राष्ट्रिय सम्मान प्राप्त गरेको हो ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थालाई सम्मानपत्र प्रदान गरेका हुन् ।

आन्तरिक राजस्व विभागद्वारा आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक तिवारीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

आठौँ पटक प्राप्त यो सम्मानले संस्थाको वित्तीय पारदर्शिता, करप्रतिको उत्तरदायित्व, संस्थागत सुशासन र आर्थिक अनुशासनलाई थप पुष्टि गरेको छ । साथै, लघुवित्त क्षेत्रबाट राज्यको राजस्वमा पुर्‍याउँदै आएको योगदानको समेत कदर भएको संस्थाले जनाएको छ ।

सम्मान ग्रहणपछि संस्थाका सिइओ दीपक तिवारीले यस उपलब्धिलाई संस्थाको सामूहिक प्रयास, जिम्मेवार व्यवस्थापन र करप्रतिको प्रतिबद्धताको प्रतिफलका रूपमा लिएको बताएका छन् ।

उनका अनुसार राज्यप्रतिको वित्तीय दायित्व पूरा गर्नु संस्थाको कानुनी जिम्मेवारी मात्र नभई संस्थागत नैतिकता र सुशासनको महत्वपूर्ण पक्ष पनि हो । करप्रतिको इमानदारी र पारदर्शी वित्तीय अभ्यासलाई प्राथमिकतामा राख्दै आएको संस्थाले आगामी दिनमा पनि आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने उनको भनाइ छ ।

तिवारीले यो उपलब्धिको श्रेय संस्थाका ग्राहक सदस्य, शेयरधनी, सञ्चालक समिति, व्यवस्थापन समूह तथा सम्पूर्ण कर्मचारीलाई जाने उल्लेख गर्दै उनीहरूको विश्वास, सहकार्य र मेहनतले संस्थालाई यस स्थानसम्म पुर्‍याएको बताएका छन् ।

छिमेक लघुवित्तले लघुवित्तीय सेवामार्फत वित्तीय पहुँच विस्तार, आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गको जीवनस्तर सुधार र वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउँदै आएको छ ।

संस्थाले आगामी दिनमा पनि पारदर्शी, जिम्मेवार र प्रभावकारी वित्तीय सेवा प्रवाहलाई प्राथमिकता दिँदै राष्ट्रको आर्थिक विकास तथा समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

लघुवित्त क्षेत्रमा सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा आठौँ पटक सम्मानित हुनुले छिमेक लघुवित्तको संस्थागत पहिचान र करप्रतिको जिम्मेवारीलाई थप स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्