माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, १ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै विदेशमा रहेका नेपालीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी नेपालमा सहज रूपमा रकम पठाउन सक्ने भएका छन्।

सम्झौताअनुसार विदेशबाट पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै रेमिट्यान्स सेवा एमबीएल रेमिटमार्फत नगद भुक्तानी लिन सकिनेछ। त्यसैगरी माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

सेवाग्राहीले नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत पनि नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल रेमिट्यान्स सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

विप्रेषण नेपाली अर्थतन्त्र र घरपरिवारको आयको महत्वपूर्ण स्रोत रहँदै आएको छ। यसबाट प्राप्त रकमले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउँदै आएको छ। साथै, बचत तथा लगानी क्षमता अभिवृद्धि र आर्थिक सुरक्षामा समेत विप्रेषणको भूमिका महत्वपूर्ण छ।

माछापुच्छ्रे बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दा नेपाल राष्ट्र बैंकका निर्देशन, प्रचलित कानुनी व्यवस्था, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पालना गर्दै आएको जनाएको छ। बैंकले सुरक्षित, विश्वसनीय, पारदर्शी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिएको छ।

बैंकका अनुसार माछापुच्छ्रे बैंकले देशभरका २५५ स्थानमा रहेको सेवा सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यसअन्तर्गत १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर रहेका छन्। बैंकका १९४ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्