भोटेकोशी बाढीपीडितले छोड्न थाले गुम्बा, गृहमन्त्रीप्रति रूष्ट

काठमाडौं, २१ कार्तिक। काठमाडौँको स्वयम्यूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रित भोटेकोशी बाढीपीडितले आश्रयस्थल छोड्न थालेका छन् ।

गुम्बा व्यवस्थापनले लामो समय भएको र अब आफ्नो व्यवस्थापन गर्न भनेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन् । गुम्बा छोडेका बाढीपीडितहरू तत्कालका लागि काठमाडौँमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन् । सरकारले नगरेपनि टिमुरेमाथि खैदे डाँडामा बासस्थनको व्यवस्था गर्ने उनीहरूको भनाइ छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका पेमा दोर्जे घलेले सरकारले यत्तिका समयसम्म पनि अस्थायी बासस्थान बनाउने विषयमा कुनै योजना नल्याएको गुनासो गरे । ‘हुनेले त कोठा लिएर बस्यो होला । नहुने पीडित पनि धेरै छ । यत्तिको समयसम्म सरकारको ध्यान गएर अस्थायी बसोबास त बनाइदिन पर्ने हो । सरकारको केही जानकारी आएको छैन,’ उनले दुःखेसो गरे ।

बाढीपीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ एकपटक गुम्बासम्म पुगेका थिए । उनले काठमाडौँमै अस्थायी बसोबासको व्यवस्थापन गर्ने आश्वासन दिएको घलेले सुनाए । तर, आफूहरू गुम्बा छोडेर जानुपर्ने परिरिस्थिति बनिसक्दा पनि सरकारले बेवास्था गरेको उनको गुनासो छ ।

‘गृहमन्त्री पनि आउनुभएको थियो । तपाईंहरूले चिन्ता लिनुपर्दैन, तपाईंहरूलाई काठमाडौँमा अस्थायी बसोबासको व्यवस्था गर्छौं भन्नुभएको थियो,’ आक्रोशित भावमा उनले गृहमन्त्रीलाई प्रश्न गरे, ‘खोइ रु कहाँ गर्नुभयो रु एकदिन आउनुभयो, पछि उहाँ आउनु पनि भएन । अब त हामी गुम्बाबाट पनि निस्कनुपर्ने परिस्थिति भइसक्यो ।’

बाढीमा आफन्त, सम्पत्ति गुमाउनुपर्ने र त्यसपछि बेघरबार हुनुपर्दा झनै पीडा भोग्नुपर्ने अवस्था आएको भन्दै उनी दुःखी सुनिए । सरकारले १५ हजार रुपैयाँ दिएको तर त्यसले कोठाभाडा तिर्ने कि रासन किन्ने भन्नेमै समस्या रहेको उनले बताए ।

बसोबास, रासन र गाउँसम्म जाने सडकको व्यवस्था गरिदिन सरकारलाई उनले आग्रह गरे । ‘रासनसम्बन्धी विषयमा सरकारले ध्यान दिनपर्‍यो । यति महिनाका लागि तिमीहरू रासनको चिन्ता नगर भनेर महिना तोकिदिनुपर्‍यो । नभए अन्तिम विकल्प भनेको हामी पनि माइती घरतिर बस्न जानुपर्छजस्तो लागेको छ,’ उनले भने ।

बाढी प्रभावित क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज पर्ने भएकाले वन–जंगल प्रयोग गर्न पाउने अवस्था छैन । वनमन्त्री, कानुनमन्त्री सबैले सहमति गरेर बाढी प्रभावित क्षेत्रका लागि निकुञ्जको निश्चित नियम फुकुवा गरिदिन सरकारलाई उनको आग्रह छ । दुई महिनासम्म मुस्ताङ गुम्बा र लायन्स क्लबले आफूहरूलाई गास–बासको व्यवस्था गरिदिएकोमा उनले धन्यवाद दिए ।

अर्का बाढीपीडित कामी नुर्बु तामाङले ९० प्रतिशत बाढीपीडित काठमाडौँ बस्न नसक्ने बताए । सरकारले कुनै योजना ल्याएर व्यवस्थापन गर्ने आशासहित आफूहरू गाउँ फर्कन लागेको उनले सुनाए ।

‘सिस्नो–ढिँडो खाऊँला, खेती–किसानी गरौँला, हिजोजस्तै पशुपालन गरौँला । त्यहीँबाट उत्पादन भएको कुरा खाएर बाँचौँला र सरकारले आगामी दिनमा केही व्यवस्थापन गर्ला भन्ने आशाका साथ हामी जाँदै छौँ,’ उनले भने ।

सधैँ आश्रय दिएर आफूहरूलाई अल्छी बनाउने काम नगरिदिन उनले सरकारलाई आग्रह गरे । कृषि, पुशपालनलगायत श्रम र उत्पादनसँग आफूहरूलाई जोड्न उनले सरकारलाई सुझाव दिए । चीनको उदाहरण दिँदै उनले भने, ‘म चीनसँगको सीमामा जन्मिएँ । चीनले कर्ममा विश्वास राख्छ । हामी पनि श्रम गर्छौं । अब राज्यले कृषि, पशुपालनमा कसरी जोड्न सकिन्छ भनेर त्यसमा निर्णय गर्नुपर्छ ।’

भविष्यको चिन्ताले झनै सताएको उनले सुनाए । घरबास नभएको, गाउँसम्म जाने सडक नभएको, रोजगारी नभएकाले आगामी दिन अहिलेभन्दा पीडादायी हुने उनको अनुमान छ । सरकारले नगर्ने भए संघ–संस्थाले दिने सहयोगका लागि बाटो खुलाउन उनले आग्रह गरे ।

मुस्ताङ गुम्बामा २०७ जना पुरुष, २०४ जना महिला गरेर ४११ जना आश्रित थिए । तीमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा हुन् । टिमुरेबाट उद्धार गरिएका पीडित पहिलो १० दिन यल्लो गुम्बामा बसेका थिए । त्यसपछि उनीहरू मुस्ताङ गुम्बामा स्थानान्तरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्