एनपीएलको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदै, सबै तयारी पूरा, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्ने

काठमाडौं, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगितामा विगतकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् ।

आजको उदघाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको खेल अपराह्न साढे चार बजे सुरु गर्ने तालिका छ ।

तेस्रो एनपिएलको सिंगल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते उपाधि भिडन्त हुने छ ।

क्यानका अनुसार एनपीएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छ। यसैगरी उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

अघिल्ला संस्करणको तुलनामा यस वर्ष नगद पुरस्कार रकम बढाइएको छ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर च्याम्पियन बन्दा एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

आईसीसीबाट मान्यता, विदेशी स्टार खेलाडीको सहभागिता

एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको छ । त्यसैले यस संस्करणमा विदेशी स्टार खेलाडीहरूको समेत उल्लेख्य सहभागिता छ ।

अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाण्डु गोर्खाजबाट खेल्दैछन् ।

वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ अशलंका बिराटनगर किङ्गसमा अनुबन्ध भएका छन् ।

सेरफान रदरफर्ड र फेबिएन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

बंगलादेशका अलराउन्डर सकिब अल हसन, मोहम्मद सैफुदिन, साकिब अल हसन र महेदी हसन पोखरा एभेन्जर्समा अनुबन्ध छन् ।

यसैगरी दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलर, पाकिस्तानका हुसैन तलात र शाहबजाद परहान तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली कर्णाली याक्समा अनुबन्ध भएका छन् ।

लुम्बिनीमा बंगलादेशका अलराउन्डर सामी हुसेन अनुबन्ध छन् ।

पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज, हैदर अली, उस्मान मिर, हसन अली, इफ्तिखर अहमद, इंग्ल्यान्डका मोइन अली, न्यूजिल्यान्डका जिम्मी मिसन, विश्व नम्बर एक अलराउन्डर सिकन्दर राजा ९जिम्बाबेका कप्तान० लगायत स्टार खेलाडीहरूको खेल पनि यसपटक एनपीएलमा देख्न पाइने छ ।

पहिलोपटक डीआरएस प्रयोग

यस प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट ९डीआरएस० को प्रयोग हुने छ ।

अब थर्ड अम्पायरहरूले अनफिल्ड अम्पायरलाई निर्णय दिन कठिनाइ भएको अवस्थामा डीआरएस प्रविधिको सहायता लिइने छ ।

विशेष, एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइडका निर्णय गर्नुका साथै छक्काको दुरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुने छ । प्रत्येक टोलीले एकपटकमा दुई वटा ‘रिभ्यू’ लिन पाउने नियम छ ।

सुरक्षालाई पनि व्यवस्थित
यसका साथै सुरक्षालाई पनि व्यवस्थित बनाएको छ । प्रहरीले एनपीएलका लागि विभिन्न भागमा वर्गीकरण गरेर सुरक्षा तय गरेको छ । खेलाडीको सुरक्षादेखि, उनीहरू बस्ने आठ वटा होटलको सुरक्षा, होटलबाट स्टेडियम जाँदाआउँदाको सुरक्षा, ट्राफिक व्यवस्थापन, खेल भएको बेला स्टेडियम तथा दर्शकको सुरक्षा गरी वर्गीकरण गरेर सुरक्षा प्रदान गरिने एसएसपी घिमिरेले बताए ।

खेलको उद्घाटन र समापनमा भीआईपी, भीभीआईपी सवारी हुने भएकाले उनीहरूको सुरक्षा पनि विशेष ख्याल गर्नेगरी व्यवस्था मिलाइएको उनले बताए ।

यी सबै सुरक्षाका लागि दैनिक एक हजार प्रहरी परिचालन हुने बताइएको छ । यसमा सादा पोशाकका प्रहरी पनि समेटिनेछन् । त्यस्तै सीसीटीभीबाट निगरानी गर्नेदेखि ड्रोनमार्फत निगरानी गर्ने र डग स्नीफिङ समेत गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्