विनियोजन विधेयकमाथि सभामा छलफल

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमाथिको छलफल सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका सांसद डा. अमरेशकुमार सिंह, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले यस शीर्षकमाथि बेग्लाबेग्लै खर्च कटौतीको प्रस्ताव गरेका थिए ।

खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिंदै काँग्रेस सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुलाका जनताको भावनासँग जोडिएका राष्ट्रिय रणनीतिक महत्वका सडक निर्माणका लागि आवश्यक बजेटको व्यवस्था हुन नसकेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद अञ्जना विशंखेले अन्य जिल्लाको तुलनामा काठमाडौँमा धेरै बजेट परेको भएपनि काँठ क्षेत्रमा अझै पनि दुर्गम जिल्लाको जस्तै अवस्था रहेको उल्लेख गर्दै बजेट विनियोजन गर्दा समानतासँगै समताको दृष्टिकोणलाई ध्यान दिनुपर्ने सुझाव दिए ।

काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरव र राष्ट्रिय महत्वका सडक निर्माणका लागि बजेटको कमी हुने देखिएकाले आवश्यक बजेटको व्यवस्था गर्न माग गरे ।

नेकपाका पवित्रा निरौला खरेलले बजेटमा योजनाका लागि मन्त्रालय धाउँदा धाउँदा जुत्ता फाट्यो तर आफ्ना जिल्लाका योजना बजेटमा नपरेको गुनासो व्यक्त गरे ।

नेकपाका सांसद प्रेमप्रसाद तुलाचनले जोमसोमदेखि तिलिचो तालसम्म सडक सञ्जाल पु¥याउन सके पर्यटन उद्योग फस्टाएर त्यस क्षेत्रको आर्थिक विकास हुने बताए ।

नेकपाका सांसद केदार सिग्देल, काँग्रेसका सांसद रंगमती शाही, नेकपाका सांसद प्रेमबहादुर आलेले राष्ट्रिय गौरवका आयोजना निर्माणलाई तीव्रता दिने कार्यक्रमलाई बजेटमा समेट्न सुझाव दिए ।

बैठकमा सांसदहरु विमला विश्वकर्मा, सत्या पहाडी, सुरेशकुमार राई, उमाशंकर अरगरिया, सत्यनारायण शर्मा खनाल, हितबहादुर तामाङ, दलबहादुर राना, यज्ञराज सुनुवार, ध्रवबहादुर रावत, गणेशसिंह ठगुन्ना, निरादेवी जैरु, गौरीशंकर चौधरी, गंगाबहादुर तामाङ, वृजेशकुमार गुप्ता, छक्कबहादुर लामालगायतले आ–आफ्ना धारणा व्यक्त गरेको थिए । प्रतिनिधिसभाको अर्का बैठक मंगलबार बिहान ११ बजे बस्ने संसद् सूचना वोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्