बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं, ३० असोज । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ ।
थाइल्याण्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैङ्ककमा रहनुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहिबार भेटवार्ता भएको थियो ।
सो भेटवार्तामा अर्थमन्त्री डा.वाग्लेले विपद्पश्चातको पुनरुत्थान, जलवायु-उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरू अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गर्नुभयो ।
विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न आपतकालीन अनुदानको छिटो स्वीकृति र हार्दिक ऐक्यबद्धताका लागि मन्त्री वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो। अर्थमन्त्री डा.वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताउनुभयो।
छलफलमा भ्रमण दलमा रहनुभएका अर्थसचिव डा.घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्थ्यो ।





















प्रतिक्रिया दिनुहोस्