एसइई परीक्षाफलमा गम्भिर प्राविधिक त्रुटि, एक दिनपछि बढ्यो ग्रेड पोइन्ट एभरेज

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा डाटा अपलोड गर्ने बेलामा त्रुटि भएको पाईएको छ ।

परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आइतबार ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि उक्त प्राविधिक त्रुुटि पत्ता लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले पर्याप्त, तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो तर कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन ।

डाटा अपलोड गर्ने बेलामा केही त्रुटि भएका कारण समस्या आएको परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले स्वीकारेका छन् । पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो । प्राविधिक त्रुटिको विषयमा छानविनको माग भइरहेका बेला कार्यालयको पछिल्लो ग्रेडसिटलाई आधिकारिक मान्न आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले नयाँ सफ्टवेयरमा प्राप्तांकलाई जोड्ने सूत्र हाल्दा गल्ती भएको पाइएको र विस्तृत के भएको बुझ्न बाँकी रहेको बताए । उनले यसबारे आवश्यक अध्ययन भइरहेको बताए ।

परीक्षा उपनियन्त्रक गेहनाथ गौतमले पनि सफ्टवेयरले कमाण्ड नगरेकाले शुरुमा केही कम ग्रेड आएको र पछिल्लो नजिताले विद्यार्थीलाई न्याय भएको दाबी गरे ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीले नयाँ र सक्कलीस्तरसहितको पछिल्लो नतिजा पाएको हो भने उनीहरुका लागि राम्रो हो तर प्रणाली त्रुटिपूर्ण हुनु कार्यालयको कमजोरी हो भने । उन्ले भने, “बरु एक दिन ढिलो गरेको भए हुन्थ्यो, यसरी त्रुटिपूर्ण विवरण सार्वजनिक हुनु गलत हो ।”

२०७४ को एसइईमा नियमिततर्फ चार लाख ५१ हजार ५३२० विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्