भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति

काठमाडौं, २८ असोज । भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन् ।

मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको जानकारी दिए । प्राकृतिक विपद्का कारण ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि सेवा पुनःस्थापना र विकास निर्माणका कामलाई निरन्तरता दिइएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले विद्युत् खरिद सम्झौता ९पीपीए० प्रक्रियालाई राष्ट्रिय आवश्यकता र प्रणालीको मागअनुसार अघि बढाउन वैज्ञानिक तथा वस्तुनिष्ठ मापदण्ड तयार गरिएको बताएका छन् ।

प्रस्तावित मापदण्डमा सुख्खायामको साँझको उच्च माग पूरा गर्न सक्ने उत्पादन क्षमता, सुख्खायाममा ऊर्जा योगदान, मासिक उत्पादनको स्थिरता, प्रसारण पूर्वाधारको उपलब्धता तथा आयोजनाको व्यावसायिक उत्पादन सुरु हुने मितिसम्म विद्युत् निकासी सुनिश्चित हुने अवस्थालाई प्राथमिकता दिइने बताए ।

निर्माणको अन्तिम चरणमा रहेका २७ जलविद्युत् आयोजनाको कुल ५४० दशमलब ४७ मेगावाट क्षमताका लागि व्यावसायिक उत्पादन सुरू हुने मिति थप गरिएको श्रेष्ठले धारणा राखे ।

नेपाल(भारतबीच विद्युत् प्रवाह क्षमता आयाततर्फ १ हजार मेगावाटबाट १ हजार ४०० मेगावाट र निर्याततर्फ १ हजार १०० मेगावाटबाट १ हजार ६५० मेगावाट पुर्‍याउने सहमति भएको मन्त्रीले बताएका छन् ।

यसैगरी सिँचाइतर्फ राष्ट्रिय गौरवका आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्ययोजना बनाएर कार्यान्वयन अघि बढाइएको उनको भनाइ छ ।

भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीपछि सम्पर्कविहीन भएका प्राधिकरणका कर्मचारीका आश्रित ६ परिवारलाई राहत प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्