सीमामा समस्या आए ‘अन द स्पट’ सुल्झाउने गरी काम गर्ने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता

काठमाडौं, २६ असोज । भारतका लागि प्रस्तावित राजदूत डा। निश्चलनाथ पाण्डेले सीमामा समस्या आए ‘अन द स्पट’ सुल्झाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनामा यस्तो उल्लेख छ ।

दुई देशका बीचमा समस्या आए सरल ढंगबाट समाधान गर्न लाग्ने पनि उनको प्रतिबद्धता छ ।

उनी अगाडि लेख्छन्, ‘यस्तो अति घनिष्ठ एवं जनस्तरमा फैलिएको दिपक्षीय सम्बन्धमा कहिलेकाही समस्या आउन, व्यवधान खडा हुन सक्छन् । यसलाई अन द स्पट स्थानीय अधिकारीकै स्तरमा सुल्झाउने, अलि जटिल भए संयन्त्रहरूबाट र त्यो पनि प्रभावकारी नभए माथिल्लो स्तरबाट सम्बोधन गराउन राजदूतको हैसियतले मेरो सक्रिय भूमिका रहनेछ ।’

यसबाहेक प्रस्तावित राजदूत पाण्डेले नेपालका पर्यटन गन्तव्यबारे भारतमा प्रभावकारी प्रचारप्रसार गर्ने, प्रवर्द्धन अभियान सञ्चालन गर्ने र पर्यटन पूर्वाधार तथा सेवाको लागत प्रतिस्पर्धी बनाउने प्रतिबद्धता जनाएका छन् ।

भारतीय सरकारी कर्मचारीलाई नेपाल भ्रमणमा प्रोत्साहित गर्ने उनको नीति छ ।

नेपाल–भारत हवाई सम्पर्क विस्तार गर्ने योजना पनि राखेका छन् ।

काठमाडौंसँग दिल्ली, वाराणसी, बेंगलुरु र मुम्बईको हवाई सम्पर्क उल्लेख गर्दै कोलकाताको नियमित उडान तथा थप सीमापार हवाई मार्ग सञ्चालनबारे छलफल अघि बढाउने बताएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान आकर्षित गर्ने पनि उनको योजना छ ।

बौद्ध तथा हिन्दू तीर्थस्थललाई संयुक्त पर्यटन सञ्जालमा जोड्ने योजना पनि प्रस्तुत गरेका छन् ।

लुम्बिनी–बोधगया–कुशीनगर र जनकपुर–अयोध्यालाई जोडेर संयुक्त पर्यटन प्रवर्द्धन गर्ने भनेका छन् । यसमा धार्मिक पर्यटनसँगै जनकपुर–अयोध्या रेल सम्पर्कलाई प्राथमिकता दिने उल्लेख छ ।

नेपाल–भारतबीच रेलमार्ग, सडक, हवाई सेवा, पेट्रोलियम पाइपलाइन र विद्युत् सम्पर्क विस्तारमा जोड दिने वाचा गरेका छन् । भारतको आर्थिक वृद्धिबाट नेपालले लाभ लिन सक्ने गरी सम्पर्क सञ्जालको विकास गर्ने लक्ष्य राखेका छन् ।

सीमा सुरक्षा र निगरानमा एआई, ड्रोन र सीसीटीभी प्रयोग गर्ने भारतका लागि प्रस्तावित राजदुतको प्रतिबद्धता

भारतका लागि प्रस्तावित राजदूत डा। निश्चलनाथ पाण्डेले खुला सीमामा चौबीसै घण्टा अपराध नियन्त्रण सम्पर्क प्रणाली विकास गर्ने योजना सुनाएका छन् ।

संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनामा यस्तो उल्लेख छ ।

खुला सीमालाई कायम राख्दै मानव बेचबिखन, तस्करी, लागुऔषध कारोबार तथा नक्कली मुद्रा र वस्तुको ओसारपसार नियन्त्रण गर्न चौबीसै घण्टा सक्रिय सीमापार अपराध सम्पर्क प्रणाली विकास गर्ने भनेका छन् ।

सीमाको निगरानी तथा व्यवस्थापनलाई आधुनिक बनाउन सीसीटीभी क्यामेरा र कृत्रिम बुद्धिमत्ता ९एआई० सहितका ड्रोन प्रयोग गर्ने प्रस्ताव कार्ययोजनामा राखेका हुन् । यसबाट सीमापार अपराध नियन्त्रण र जोखिम पहिचानमा सहयोग पुग्ने उनको अपेक्षा छ ।

उनले लेखेका छन्, ‘नेपाल–भारत सीमा सुरक्षा व्यवस्थालाई अब चौबीसै घण्टा सीमा–अपराधसम्बन्धी सूचना आदान–प्रदान गर्ने प्रणालीमा रूपान्तरण गर्न आवश्यक छ ।’

मानव बेचबिखन, तस्करी, लागुऔषध ओसारपसार तथा नक्कली मुद्रा र नक्कली सामानको कारोबारजस्ता समस्याहरू समाधान गर्ने गरी काम गर्ने उनको प्रतिबद्धता छ ।

अगाडि लेख्छन्, ‘खुला सीमाको व्यवस्थालाई कायम राख्दै, यसलाई स्मार्ट बोर्डर प्रणालीमा परिणत गर्न सूचना संकलन क्षमता सुदृढ पार्नुका साथै सीसीटीभी क्यामेरा र एआई प्रविधिमा आधारित ड्रोन निगरानीजस्ता नयाँ प्रविधिहरूको प्रयोग गर्नुपर्छ ।’

उनका अनुसुार सीमा व्यवस्थापनसम्बन्धी विद्यमान संयुक्त कार्यदल र गृहसचिवस्तरीय छलफलहरू भइरहेकै छन् । तर अब तल्लो तहमा प्रभावकारी समन्वय र सूचना आदान–प्रदानमा विशेष जोड दिनुपर्ने उनले औंल्याएका छन् ।

यसबाहेक नेपाल–भारत सीमामा अप्टिकल फाइबर तथा डिजिटल सम्पर्क विस्तार गर्ने नीति अवलम्बन गर्ने पनि पाण्डेको प्रतिबद्धता छ ।

पाण्डेको सुनुवाइ सकिएको छ । तर सुनुवाइ समितिले अनुमोदन गर्नेरनगर्ने निर्णय लिन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्