नेपाली ब्रान्डलाई विश्व बजारमा स्थापित गर्न ब्रान्डिङ र गुणस्तरमा जोड दिनुपर्छ स् कार्यवाहक अध्यक्ष मल्होत्रा
काठमाडौ. २३ असोज । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले नेपाली उत्पादनलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न ब्रान्डिङ, गुणस्तर र कानुनी सुधारमा जोड दिनुपर्ने बताएका छन् ।
‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपाली उत्पादनमा सम्भावना भए पनि प्रभावकारी ब्रान्डिङको अभावमा बजारमा अपेक्षित पहिचान बनाउन नसकेको बताए ।
उनले छुर्पी, बेसार र अलैँचीजस्ता नेपाली उत्पादनको समेत पर्याप्त ब्रान्डिङ हुन नसकेको उल्लेख गरे । कतिपय अवस्थामा नक्कली ब्रान्डका वस्तुसमेत बजारमा बिक्री भइरहेको भन्दै उनले ब्रान्ड संरक्षण र प्रवर्द्धनका लागि कानुनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए ।
‘नेपाली उत्पादन राम्रो भएर मात्रै पुग्दैन, त्यसलाई बजारमा चिनाउन पनि सक्नुपर्छ,’ मल्होत्राले भने, ‘ब्रान्डिङका क्षेत्रमा रहेका कानुनी समस्या समाधान गर्दै उपयुक्त कानुनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ ।’
उनका अनुसार नेपाली ब्रान्ड कुनै वस्तु वा सेवाको नाममा मात्र सीमित हुँदैन । यो उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र नेपालको आर्थिक पहिचानसँग जोडिएको विषय हो ।
नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आए पनि उत्पादन बढाएर मात्रै अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उनले बताए । उत्पादनसँगै गुणस्तर सुधार, ब्रान्डिङ, बजार विस्तार र उपभोक्ताको विश्वास जित्न पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।
मल्होत्राले ‘मेड इन नेपाल’ लाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सरकार, निजी क्षेत्र र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताए । नेपाली उत्पादनलाई घरेलु बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने उनले उल्लेख गरे ।
त्यसका लागि सरकारले स्थिर नीति, लगानीमैत्री कानुन, सहज व्यावसायिक वातावरण, पूर्वाधार र प्रविधिको विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ । निजी क्षेत्रले उत्पादनको गुणस्तर, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने तथा सञ्चारमाध्यमले नेपाली उत्पादन र सफल उद्यमका कथा स्वदेश तथा विदेशमा पुर्याउन सहयोग गर्न सक्ने उनले बताए ।
नेपाली उद्योग तथा व्यवसायको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली ब्रान्डको पहिचानलाई केन्द्रमा राखेर अध्ययन तथा प्रतिवेदन तयार गरेकोमा मल्होत्राले कर्पोरेट नेपाललाई धन्यवाद दिँदै बधाई दिए ।
‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी प्रतिवेदनले नेपाली ब्रान्डको वर्तमान अवस्था, चुनौती र सम्भावना बुझ्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । अध्ययन, अनुसन्धान र तथ्यमा आधारित बहसले नीति निर्माण तथा व्यावसायिक रणनीति तय गर्न पनि मद्दत गर्ने उनको भनाइ थियो ।
नेपाली ब्रान्डको विकासबाट उत्पादन, रोजगारी र निर्यात विस्तारमा सहयोग पुग्नुका साथै समग्र अर्थतन्त्रलाई बलियो बनाउन सकिने उल्लेख गर्दै उनले स्वदेशी उत्पादनलाई विश्व बजारमा स्थापित गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।








प्रतिक्रिया दिनुहोस्