११ वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा विद्यादेवी भण्डारी
काठमाडौं, २२ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा वरिष्ठ नेताको हैसियतमा शपथ लिएपछि स्थायी कमिटी बैठकमा सहभागी भएसँगै भण्डारीको एमालेको सक्रिय राजनीतिमा औपचारिक पुनरागमन भएको हो ।
२०७२ साल कात्तिकमा राष्ट्रपति बन्नुअघिसम्म भण्डारी नेकपा एमालेको उपाध्यक्ष थिइन् । त्यसपछि उनी लगातार २०७९ फागुन २५ गतेसम्म राष्ट्रपतिकै भूमिकामा रहिन् । राष्ट्रपतिको भूमिका सकिएलगत्तै भण्डारीले एमाले राजनीतिमा होमिने प्रयास गरेकी थिइन् । तर, त्यसबेला उनलाई एमालेले राष्ट्रपतिजस्तो पदमा आसीन भएको व्यक्ति राजनीतिमा फर्कनु उचित नहुने भन्दै सदस्यता नै खारेज गरेको थियो ।
२०८२ साउन पहिलो साता बसेको एमाले केन्द्रीय कमिटीको नवौँ बैठकले भने पूर्वराष्ट्रपति पार्टीको सदस्य बन्न नहुने जनाएको थियो । उक्त केन्द्रीय कमिटी बैठकपछि २०८२ साउन १२ गते जारी अपानिमा सिङ्गै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउन नहुने जनाएको थियो ।
‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिङ्गै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा ९एमाले० ले कार्यकर्ता बनाउनु हुँदैन’, २०८२ साल साउन १२ गते जारी एमालेको अपानिमा भनिएको थियो, ‘पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।’
भण्डारीबारे एमालेले यस्तो निर्णय गरेको १४ महिनापछि अर्थात् २०८३ असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनै भण्डारीबारे अघिल्लो वर्षको निर्णय उल्ट्याउँदै वरिष्ठ नेता बनाएको थियो ।
असोज ५–८ मा बसेको केन्द्रीय कमिटी बैठकपछि असोज १८ गते अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–३ ९अपानि० मा विद्याको नियुक्तिसहित उनको जिम्मेवारी नै तोकिएको छ ।
‘बैठकले राष्ट्रपतिको जिम्मेवारीबाट सेवानिवृत्त हुनुभएपश्चात् पुनः पार्टी सदस्यता प्राप्त गरी राजनीतिमा सक्रिय रहँदै आउनुभएकी कमरेड विद्यादेवी भण्डारीलाई उपयुक्त जिम्मेवारी प्रदान गर्न केन्द्रीय कमिटीले विधानको धारा–१०५ को बाधा अड्काउ फुकाउने अधिकार र धारा १३ ९क० को दुई महाधिवेशनबिचको अवधिमा राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी भएर पार्टीको सर्वोच्च संस्थाको हैसियतले निर्णय गर्न पाउने अधिकार प्रयोग गरी विधानको धारा १२ ९ख० र विधानको धारा १८’ बमोजिम वरिष्ठ नेता मनोनीत गरिएको उल्लेख छ ।
पार्टीमा भण्डारीको वरीयतासमेत तोकिएको छ । उनी अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहनेछिन् ।
गत फागुनमा भएको निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेकपा एमालेभित्र पार्टी पुनर्गठनको बहस चर्किएसँगै भण्डारीको पुनरागमनले पुनर्गठनको मुद्दा तत्काललाई सेलाएको छ भने आगामी दिनमा राजनीतिक बल बढ्ने अपेक्षा एमालेजनले गर्न थालेका छन् । लामो समयदेखि एमालेमा ओलीको बोलबाला चल्दै आएको अवस्थामा भण्डारीको पुनरागमनले एमालेभित्रको शक्ति समीकरणसमेत बदलिने नेताहरू बताउँछन् ।
पछिल्ला वर्षहरूमा अध्यक्ष ओलीको कार्यशैलीबाट सन्तुष्ट हुन नसकेका कतिपय एमाले नेता–कार्यकर्ताहरू भण्डारीको पुनरागमनसँगै उत्साहित बनेका देखिन्छन् ।
‘औसत सर्वसाधारण नागरिकसरह बाँच्ने उत्कट चाहना र उत्कृष्ट मन बनाएसँगै पूर्वराष्ट्रपतिको रूपमा पाउने न्यूनतम सेवासुविधा सबै परित्याग गरेर भण्डारी पुनः सक्रिय राजनीतिमा आउनुभएको छ, यसकारण पनि उहाँप्रति अगाध श्रद्धा र सम्मान जागेको छ । सम्मान बढेको छ’, एमालेका पूर्व केन्द्रीय सदस्य युवराज बास्कोटा भन्छन्, ‘वस्तुतः यो खुसी हिजो पार्टी निर्माणको प्रतिकूल बखतमा अनुकूल अवस्था ल्याउन काँध थापेर र सर्वस्वसहित उभिने एउटा भुइँमान्छेको प्रतिनिधिमूलक खुसी हो र अटुट अपेक्षा पनि ।’
बास्कोटाले नेकपा ९एमाले० मा भण्डारीको उपस्थितिले खड्किँदो अभाव पक्षलाई व्यवहारबाट परिपूर्ति गर्ने अपेक्षा राखेका छन् ।
‘नेकपा ९एमाले० मा उहाँको उपस्थितिले यो अभाव खड्किँदो पक्षलाई व्यवहारबाट परिपूर्ति हुनेछ, उहाँले यसको बृहत् अर्थ र महत्त्वका साथ नेतृत्व गर्नुहुनेछ’, बास्कोटाको भनाइ छ ।
२०३५ सालदेखि नेकपा मालेको युवा लिगमा सङ्गठित हुँदै राजनीतिक यात्रा सुरु गरेकी विद्या त्यसपछि २०३७ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियुको कोषाध्यक्ष बनेकी थिइन् । २०३९ सालमा तत्कालीन नेकपा मालेका केन्द्रीय सदस्य मदन भण्डारीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।
मदनको २०५० सालमा जिप दुर्घटनामा निधन भएपछि सोही वर्ष भएको उपनिर्वाचनमा विद्याले काठमाडौंबाट कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेकी थिइन् ।








प्रतिक्रिया दिनुहोस्