बिमल धमलाद्वारा केन्द्रीय सदस्यको लागि उम्मेदवारी घेषणा, निर्वाचित हुनेमा विश्वस्त

नेपाली कांग्रेस १५औं  महाधिवेशनको लागि सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरुले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरिरहका छन् ।

यसैबिच पाँचथर महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएका  बिमल धमला अर्थात् निरबहादुर विश्वकर्माले पनि केन्द्रिय सदस्यको लागि उम्मेदवारी घेषणा गरेका छन् ।

राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय बिमल धमला अर्थात् निरबहादुर विश्वकर्मा व्यवसायीको हकहित, सामाजिक सेवा तथा संगठन निर्माणमा निरन्तर क्रियाशील छन्।

२०५७ सालदेखि सुनचाँदी व्यवसायी संघ पाँचथरसँग जोडिएका धमलाले जिल्ला सदस्य हुँदै कोषाध्यक्ष र तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। हाल उनी नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका महासचिवका रूपमा व्यवसायीका हकहितका विषयमा सक्रिय छन्। यसअघि उनले महासंघको केन्द्रीय सदस्य तथा सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए।

सामाजिक क्षेत्रमा पनि उनको लामो योगदान रहेको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको जिल्ला सचिव हुँदै दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका धमला हाल तेस्रो कार्यकालमा समेत सक्रिय छन्।

राजनीतिक क्षेत्रमा नेपाली कांग्रेस पाँचथरका आमन्त्रित जिल्ला सदस्यका रूपमा काम गरेका धमला पार्टीका १३औँ, १४औँ र १५औँ केन्द्रीय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसमेत बनेका छन्। नेपाल दलित संघको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका उनी २०६९ फागुन १९ देखि २१ गतेसम्म झापाको बिर्तामोडमा सम्पन्न केन्द्रीय महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

२०८१ असोजमा नेपाल दलित संघको केन्द्रीय तदर्थ समितिको सदस्यमा मनोनित भएका धमला त्यसयता पनि पार्टी संगठनलाई सक्रिय र सुदृढ बनाउन क्रियाशील छन्। स्कुल अफ डेमोक्रेसी पाँचथरका अध्यक्षका रूपमा उनले लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा समेत भूमिका निर्वाह गर्दै आएका छन्।

२०६२र६३ को दोस्रो जनआन्दोलनमा अग्रमोर्चामा सहभागी भएका धमला त्यसयताका विभिन्न निर्वाचनमा पनि सक्रिय रहँदै आएका छन्। २०६४ र २०७० का संविधानसभा निर्वाचनदेखि २०७४ र २०७९ का स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्म उनले पार्टीका उम्मेदवारका पक्षमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

२०७६ पुस १९ गते उनी राष्ट्रियसभा सदस्यको उम्मेदवारसमेत बनेका थिए। २०७९ को स्थानीय तह निर्वाचनपछि उनी फिदिम नगरपालिकाको कार्यपालिका सदस्यसमेत बने।

व्यवसायिक क्षेत्रमा भने धमला २०५४ सालदेखि नै सुनचाँदी व्यवसायमा आबद्ध छन्। सुनचाँदी व्यवसायसँगै कफी उद्योग तथा कृषि फार्म सञ्चालनमार्फत स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत उनले योगदान दिँदै आएका छन्।

सुनचाँदी व्यवसायी संघ पाँचथरको अध्यक्ष रहेका बेला फिदिम नगरपालिकास्थित शिलवाल परिसरमा विश्वकर्मा बाबाको मन्दिर निर्माणमा समेत उनले भूमिका निर्वाह गरेका थिए। विपद्का समयमा प्रभावित नागरिक तथा व्यवसायीलाई सहयोग गर्ने कार्यमा पनि उनी सक्रिय रहँदै आएका छन्।

हालै रसुवा, भोटेकोसी हुँदै त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावितका लागि नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघमार्फत ४६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरी अर्थमन्त्रीमार्फत राहत कोषमा हस्तान्तरण गर्न धमलाले संयोजनकारी भूमिका निर्वाह गरेका थिए। प्रभावित व्यवसायी तथा कालिगडलाई प्रत्यक्ष भेटेर नगद सहयोग उपलब्ध गराउने कार्यमा समेत उनी सहभागी भएका थिए।

राजनीति, व्यवसाय र सामाजिक सेवालाई सँगसँगै अघि बढाउँदै आएका धमलाले आगामी दिनमा पनि संगठन, व्यवसायीको हकहित र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्।

यसरी व्यवसाय, राजनीतिक र समाज सेवालाई संगसँगै अघि बढाएका धमलालाई सबैले असर र मृदुभाषिको रुपमामा चित्रण गर्ने गर्दछ । सबैको प्रिय भएकाले उनलाई देशभरको नेता तथा कार्यकर्ता/महाधिवेशन प्रतिनिधिहरुले मतदान गरि अत्याधिक बहुमतले विगजयी गराउनेमा उनी विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्