गगनका प्रमुख राजनीतिक सल्लाहकार पौडेल बागलुङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित
काठमाडौं -नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । पौडेल खुल्लातर्फको महाधिवेशन प्रतिनिधि भएका हुन् ।
पौडेल पछिल्लो दुई दशक कांग्रेस सभापति थापाको राजनीतिक तथा नीतिगत टिमको नेतृत्वमा रहेर काम गर्दै आएका छन् । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि गठन गरेको केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिमा पनि पौडेल सदस्य–सचिवको जिम्मेवारीमा छन् ।
लामो समयदेखि सार्वजनिक नीति विष्लेषण तथा राजनीतिक गतिविधिमा सक्रिय रहेका उनी बागलुङको कांग्रेसको स्थानीय संगठनात्मक आधारसँग पनि जोडिँदै आएका छन् । अंग्रेजी साहित्य, राजनीतिक शास्त्र र कानुनमा स्नाकोत्तर गरेका पौडेलले थापासँग विभिन्न पुस्तकको सहलेखनसमेत गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं १३ पैयुँपाटाका पौडलले स्कुले जीवनबाटनै राजनीति सुरु गरेका थिए । धौलागिरी बहुमुखि क्याम्पस बागलुङको नेतृत्वदायी भुमिका, नेपाल विद्यार्थी संघ बागलुङको जिल्ला सचिवदेखि त्रिभुवन विश्व विद्यालयमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिए ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा गगन थापासहितको सहलेखनमा संविधानसभा र नेपाली कांग्रेस पुस्तक लेखेका पौडेल संविधान र संसदीय मामिलामा विज्ञ सल्लाहकारको रुपमा कार्य गरेको अनुभव छ। २०७३ सालमा थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा पौडेल उनका प्रमुख सल्लाहकार थिए । त्यतिबेला स्वास्थ्य मन्त्रालयमा थापाको काम गर्ने शैली र नीति निर्माणमा सल्लाहकार तथा स्वयंसेवकहरूको टिमले महत्वपूर्ण भूमिका खेलेको थियो, जसको नेतृत्व पौडेलले गरेका थिए ।
थापा स्वास्थ्य मन्त्री हुँदा पौडेलले स्वास्थ्य नीति, स्वास्थ्य प्रणाली, स्वास्थ्य बीमा, जनशक्ति व्यवस्थापन र स्वास्थ्यसम्बन्धी कानुन निर्माणका विषयमा पौडेले टिमको नेतृत्व गरेका थिए । कांग्रेसको २०७०, २०७४ र २०७९ को निर्वाचन घोषणापत्र निर्माण समितिमा बसेर काम गरेका पौडेल, थापाको नेतृत्वमा अघि बढाइएको ‘प्रोजेक्ट गर्भरमेन्ट’ को पनि संयोजन गरेका थिए भने पार्टीको नीति र विधान मस्यौदामा समेत क्रियाशील छन। उनी विभिन्न संसदीय समिति र सरकारको नीति तथा कानून तर्जुमा कार्यदलमा विज्ञको रुपमा समेत रहेर काम गर्दै आएका छन।
जनस्वास्थ्य ऐनको प्रारम्भिक मस्यौदा निर्माणदेखि स्वास्थ्य बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार, विद्यालय नर्सिङ कार्यक्रम र स्वास्थ्य अनुसन्धान रणनीतिजस्ता विषयमा उनको योगदान छ । विचार, इमान्दारिता र निष्ठाको राजनीतिमा विश्वास राख्ने पौडेल नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र पूर्ण बहादुर खड्काले नीति प्रतिष्ठानको नेतृत्व लिँदा पौडेलले प्रतिष्ठानको सदस्यको जिम्मेवारीमा थिए भने हाल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रमुख राजनीतिक सल्लाहकार र १५औं महाधिवेशन केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिको सदस्य सचिवको रुपमा समेत रहेका छन।







प्रतिक्रिया दिनुहोस्