आज र भोलि पनि झरी पर्ने क्रम जारी रहने, आइतबारदेखि सुधार हुने
काठमाडौं, ९ असोज। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो । आज र भोलि पनि झरी पर्ने क्रम जारी रहने मौसमविदहरुले बताएका छन् ।
मौसमविदहरुका अनुसार आज र भोलि पनि झरी पर्ने पूर्वानुमान छ । आइतबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने सम्भावना छ ।
निरन्तरको भरीले बाढी पहिरो र डुबानको समस्या हुनसक्ने भएकाले देशभर सावधानी अपनाउन नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थानमा साथै मधेश प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख छ ।
आज गण्डकी र लुम्बिनीमा वर्षा केन्द्रित हुने, लामोदूरीको यात्रा नगर्न सुझाव
मौसमविद उज्ज्वल उपाध्यायले आज बिहानदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खासगरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रुपमा केन्द्रित हुने जनाएका छन् । कोशीतिर भने वर्षाको तीव्रता केही कम हुने उनको पूर्वानुमान छ ।
मौसमविदहरुले आज र भोलि लामोदूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएको ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।
गत चौबिस घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याममा भएको छ । कन्याममा ११४ मिलिमिटर वर्षा मापन भएको छ । इलामको जितपुरमा ९१ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी काभ्रेको रोशीमा ९७।८, पाल्पाको अर्चलेमा ९३।८, सोलुखुम्बुको पाख्रिबासमा ८५।२ मिलिमिटर वर्षा भएको छ ।







प्रतिक्रिया दिनुहोस्