चिया बगानः मजदुर विस्थापित गर्दै यन्त्र

काठमाडौँ । पूर्वी नेपालका चिया बगानहरूले मजदुर विस्थापित गर्न चियापत्ती टिप्नका लागि उपकरण प्रयोग गर्न थालेका छन्।

नयाँ श्रम ऐनले चिया मजदुरलाई पनि अन्य उद्योगका मजदुर सरह सुविधा दिइनुपर्ने प्रावधान राखेपछि मजदुर राख्न नसकी उपकरण प्रयोगमा ल्याएको चिया उद्योगीहरूले बताएका छन्।

तर मजदुर संगठनहरुले उपकरण प्रयोगले मात्र चिया क्षेत्रको समस्या समाधान नहुने बताउँछन्। नेपालका चिया बगानमा चियापत्ती टिप्ने उपकरणहरू प्रशस्त देख्न सकिन्छ ।

अरू देशमा यस्ता उपकरण धेरै पहिलेदेखि प्रयोगमा आइसके पनि नेपालमा अब मजदुरको भार थाम्न नसक्ने भएर त्यो भित्र्याउन परेको एकजना चिया उद्योगी कुमार गिरीले बताए।

उनले भने, “श्रम ऐनले चिया उद्योगलाई असर पारेका बेला उपकरणको प्रयोगले चियापत्ती टिपाइ छिटो हुन्छ। मजदुर पनि कम लाग्छ र हाम्रो लागत पनि घट्छ।”

नयाँ श्रम ऐन कार्यान्वयनमा आएपछि साना तथा ठूला सबै बगानमा चियापत्ती टिप्ने उपकरण ल्याउन परेको झापा हल्दिवारीका साना चिया किसान कृष्णप्रसाद प्रसाईंले बताए।

उनले भने, “चियापत्ती टिप्न उपकरण प्रयोग गरिएन भने चिया उद्योग बाँच्दैनन् अब। चियापत्ती टिपाइ एकखाले हुने भएकाले यसले चियाको गुणस्तर पनि बढाउँछ।”

नयाँ ऐनको प्रावधानले दैनिक ज्यालाबाहेक मजदुरले पाउने बिदा, बीमा तथा अन्य उपदानमा वृद्धिले चिया उद्योगको मजदुर खर्च बढेको चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तल बताउँछन्।

उनका अनुसार श्रम ऐनको प्रावधानले दैनिक मजदुर व्ययभार तीन सय रुपैयाँबाट बढेर तीन सय ९८ रुपैयाँ पुग्छ।

तर चिया मदुरका संगठनहरूले भने चिया बगानमा उपकरण मात्र भित्र्याएर चिया उद्योग उँभो नलाग्ने बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश नं.१ का इञ्चार्ज भुपाल सापकोटाले भने, “जब मजदुरको हकहितका कुरा आउँछ अनि उहाँहरू अनेक कुरा खोज्न थाल्नुहुन्छ। जस्तोसुकै उपकरण ल्याए पनि मजदुरको समस्या समाधान नगरी चिया उद्योग उँभो लाग्दैन।”

नेपाल चिया विकास निगम लिमिटेडका बगानमा अहिलेसम्म ८० वटा चियापत्ती टिप्ने उपकरण प्रयोग भइरहेका छन्।

चिया उद्योगमा चियापत्ती टिप्नकै ज्यादा मजदुर खपत हुने भएकाले अहिले सबै बगानले मजदुरको सट्टा उपकरण प्रयोग गर्न थालेको चिया उद्योगी तथा किसानहरूको भनाइ छ । -बिबिसि

 

प्रतिक्रिया दिनुहोस्